सञ्जीतकुमार मण्डल,महोत्तरी-केना कक निकाल्तै हमरा सरके, केना कक, हमरा सिन्दुरके लौटादो बालेन सरकार । नैत हमरा सब मैडमके सराप ओकरा लगतै । काइल्ह ओकरो साथ एहन कहियो होतै नत ।अर्थात कसरी निकाल्छ मेरो सरलाई, कसरी, मेरो सिन्दुरलाई फिर्ता गरिदेओस बालेन सरकार । नत्र उनलाई हामी सबै मैडमको सराप लाग्छ । भोलि उनीसँग पनि कहिले यस्तो हुन्छ ।
यो बिलौना हो, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ३ मा बस्ने ईन्द्रा अधिकारीको को । जसका श्रीमान नेपाल सरकारका ईन्जिनियर भएर रसुवा जिल्लामा अवस्थित त्रिशुली ३ए जलविद्युत परियोजनामा काम गर्दैगर्दाको अवस्थामा भदौ १० गते भोटेकोशीको प्रलयकारी बाढीले टनेल भित्रै थुनिएका छन् ।



डेढ वर्षीया छोरी विभाँसी कुमारीलाई काखमा र छौ महिनाको गर्भ बोकेर बसिरहेकी ईन्द्रा अगाडि भन्छिन् , “बालेन सरकारले चाहेको भए चार दिनमै मेरो सर सहित सबै सर निस्किसकेको हुन्थ्यो । उसकै ढिलासुस्तीका कारण आजसम्म हाम्रो सर आउन सकेको छैन् । त्यही स्थानमा उनको आफ्नो छोरी, आफ्नी बहिनी भएको भए, दुनियाको कुनै अस्त्र सस्त्र वा मान्छे खोजेर बचाएको हुन्थ्यो । तर, हाम्रो लागि केहि गरेको छैन् । हामी ३०।४० जना मैडमहरु सबै जना आज १० दिनदेखि रोईरहेका छौ । तर हाम्रो लागि केही गरेको छैन । झुटैको खनिरहेको भन्दै हिडेका छन् ।” उनी थप्छिन्, “मेरो बालेन सरकारसँग एउटै आग्रह छ, जसरी पनि हाम्रा सरहरुलाई ल्यादिनुस । नत्र हामी सबै मैडमहरु बच्चा सहित काठमाडौं आउँछौ, हामीलाई पनि गोली हान्दिनुस । हामी बाँचेर के गर्छौ । ”
दुईवर्ष अघि मात्रै बिहे गरेर अहिले श्रीमानसँगै रसुवामै बस्दै आएकी ईन्द्रा आफ्नी डेढ वर्षीया छोरी विभाँसी कुमारीलाई काखमा र छौ महिनाको गर्भ बोकेर श्रीमानसँगै रसुवामै बस्दै आएकी थिइन् । भदौ १० गते बिहान डेराबाट ६ः४० बजे अफिसको लागि हिडेको श्रीमान विकास कुमार यादवले आफूसँग बिहान ८ बजेसम्म कुराकानी भएको ईन्द्रा बताउँछिन् । सधैं अफिसमा ८ बजे खाजा खाने गरेका श्रीमानले यस दिन पनि खाजा आएको र आफूसँग कुरा गरेर काममा लागेको उनले बताइन् ।
यसैबीच अचानक ९ बजेर १० मिनेटमा ठूलो आवाज भएको र आफू बस्ने कोठा समेत हलिएको देखेर उनी सहित सबै मैडमहरु बाहिर आएर हेर्दा सबैतिर भागाभाग थियो, मानिसहरु सबैतिर भाग्दै थिए र आफूहरुलाई पनि गार्ड दाईले मैडहरु भाग्नु भनेपछि ३ तल्ला माथि बस्दै आएकी ईन्द्राले ६ महिनाको गर्भ र डेढ वर्षीया छोरी सहित तल आएर छिटो छिटो माथि डाँडामा चढेको बताईन् ।
उनले डाँडा चढ्दै गर्दा एक हातबाट श्रीमान विकासलाई मोबाईलबाट फोन पनि गरिरहेकी थिईन र ९ बजेर १४ मिनेटसम्म आफ्नो श्रीमानको मोबाईल अनलाईन नै देखिएको उनी बताउँछिन् । तर, त्यसपछि आफ्नो मोबाईलको टावर समेत काटिएकोले उनीसँग कुनै सम्पर्क नभएको ईन्द्रा भन्छिन् । दिनभरि डाँडामा बसेर श्रीमानको प्रतिक्षा गरिरहेकी ईन्द्रा बेलुका नदीको पानी कम भएपछि तल ओर्लेर हेर्दा श्रीमानको अफिसनै थिएन र उनी काम गर्ने टनेल पनि देखिरहेको थिएन् ।
अबेर साँझ र अलि राति परिसक्दा पनि श्रीमान नआएपछि उनलाई माथिबाट आएकी एक स्थानीय आमाले सबै मैडमसहित माथि रात्री बासको लागि लगेको र भोलिपल्ट फेरी उनी दिनभरि घाम र पानी परिरहेकै अवस्थामा दिनभरि नदी किनारमा विकासको प्रतिक्षा गरेको उनी बताउँछिन् ।ईन्द्राले दुई दिनसम्म श्रीमानको प्रतिक्षा गर्दा पनि नआएपछि तेस्रो दिनमा उनी नदी किनारमै बेहोस भएर लडेपछि नेपाली सेनाले उद्धार गरेर उनलाई हेलिकप्टर मार्फत नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा र सोही दिन काठमाडौं पठाएको उनी बताउँछिन् ।
गत शनिवार मात्रै ससुराली गाउँ महोत्तरीको पिपरा गाउँपालिका ३ मा आएकी ईन्द्रा सोही दिनदेखि श्रीमान्को प्रतिक्षामा रातदिन रुने, कराउने र कसैको मोबाईलमा कतैबाट फोन आयो भने आफ्नै श्रीमान्को खबर आयो भन्दै झस्किने गरेकी छिन् । छिनछिनमै बेहोश हुने र होश खुलेपछि कहाँ छन् मेरो सर? भनेर ईन्द्रा बौलाएको जस्तो गरिरहेकी छिन् ।
उनी टनेलभित्र सूरक्षित स्थान समेत रहेको, त्यसभित्र ४ दिनसम्म खानपिन गर्न सक्ने खाद्य सामग्री र अक्सिजनको समेत व्यवस्था रहेकोले आफ्नो श्रीमान अझै पनि सूरक्षित रहेको दाबा गर्छिन र भगवानसँग आफ्नो श्रीमान फर्केर आउने आशा अझै पालिरहेकी छिन् । तर, त्यसका लागि अब सरकारले ढिलो नगरी चाँडै उहाँलाई बाहिर निकालिदिन ईन्द्रा हारगुहार गरिरहेकी छिन् । उनी भन्छिन्, “जति ढिलो हुन्छ, अब हाम्रो आशा कम हुँदै जान्छ । त्यसैले बालेन सरकार छिटो बचाऊ गरिदिनुस ।”त्रिशुली ३ए को टनेलमा त्यसदिन विकास सहित करीब ४२ जना ईन्जिनियर र १० जना जति हेल्पर पसेको ईन्द्रा बताउँछिन । तर अहिलेसम्म कसैको कुनै अतोपत्तो छैन् ।
पिपरा गाउँपालिका ३ बस्ने शम्भुनाथ यादव (बेचन) का दुई भाई छोरा मध्ये जेठा रहेका विकास गत बैशाखमा कान्छो भाई शुभासको विहेमा आएर रसुवा गएको दिन सम्झँदै बुवा बेचनको पनि छोरा टनेलमा फँसेको सुनेकै दिनदेखि अन्नपानी बन्द छ भने उनलाई सधैंभरि छोरा सकुशल रहेको समाचार कतैबाट सुन्न पाउँ भनि लागिरहेको छ ।त्यसैगरी आमा विणा देवी छाति पिटेर रुँदै कराउँदै आँगनमा जाने जो कोहीलाई पनि आफ्नो छोरा (विकास) लाई ल्याइदिन बिलौना गरिहेकी छिन् भने बहिनी निशा यादव पनि दाजुको प्रतिक्षामा रातदिन मूलढोकातिर हेरिरहेकी छिन् ।
छोरीको दुःख सुनेर ससुराली गाउँ पुगेका ईन्द्राका बुवा भंगहा नगरपालिका ६ हतिसर्वा गाउँ बस्ने विजय यादव पनि छोरीको दुःखमा दुःखी हुँदै यो सबै बालेन सरकारको लापर्बाहीका कारण हो कि आफ्नो ज्वाँईको आज नौ दिन बितिसक्दा पनि कुनै अतोपत्तो छैन् भनी बताउँछन् ।
ईन्जिनियर विकासले केहि दिन अघि मात्रै यसैबवर्ष एमई (ईन्जिनियरिँगमा मास्टर) गरेका थिए । उनकी आमा विणाले आफ्नो छोरा वैज्ञानिक रहेको र आफ्नो छोरालाई कसैले ल्याइदेऊन भनी बिलौना गरिरहेकी छिन् ।
विकासको खोजीका लागि भाई शुभाष पनि रसुवासम्म पुगेको छ । तर उनलाई नेपाली सेनाले टनेलसम्म जान दिएको छैन । उनले आफ्नो दाजुको मोबाईलको लोकेशन टनेलभित्रै देखाइरहेको दाबी गर्दै टनेलसम्म जान खोज्दा उनलाई नेपाली सेनाले जान दिएको छ्रैन र अगाडि काम हुँदैछ भने जवाफ दिएको उनले घरमा बताएका छन् ।अहिले विकासको घरमा शुभचिन्तक, शुभेच्छुक, ईष्टमित्र र आफन्तहरुको घुँइचो लागेको छ । तर कुनै पनि प्रशासनिक निकायले घरमा ढाडस बधाउनका लागि पनि नआएको परिवारजनको आरोप छ ।जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार महोत्तरीका १० जना व्यक्तिहरु अझै पनि सम्पर्कविहिन रहेका छन् ।




