महोत्तरी – इलाका प्रशासन कार्यालय बर्दिबासबाट खटिएको टोली तथा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बर्दिबास क्षेत्रमा ग्यास पसल, किराना तथा खाद्यान्न पसल, होटल, मेडिकल तथा स्वास्थ्यसम्बन्धी व्यवसायको अनुगमन गरिएको छ।अनुगमनका क्रममा म्याद गुज्रिएका वस्तु तथा औषधि बिक्रीका लागि राखिएका साथै आवश्यक दर्ता तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थामाथि कारबाही गरिएको अनुगमन टोलीले जनाएको छ।

टोलीले बर्दिबास नगरपालिका–१ स्थित रिया डायग्नोस्टिक सेन्टर प्रा.लि. मा सिलबन्दी गरेको छ। त्यहाँ आवश्यक दर्ता तथा योग्य जनशक्ति नरहेको र आवश्यक अनुभव तथा योग्यता नपुगेका व्यक्तिबाट प्रयोगशाला परीक्षण गराउने गरेको पाइएको टोलीले जनाएको छ।




त्यसैगरी, बर्दिबास नगरपालिका–१४ स्थित विधा आयुर्वेदिक औषधालय प्यारालायसिस (लक्वा) उपचार केन्द्रले समेत आवश्यक प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरेको पाइएपछि ताल्चा लगाइएको टोलीले जनाएको छ। दुवै संस्थाका सम्बन्धित सञ्चालक तथा व्यवसायीमाथि आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जनाइएको छ।अनुगमनका क्रममा दर्ता नभएका व्यवसाय, म्याद गुज्रिएका औषधि तथा स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड र योग्य जनशक्ति पूरा नगरी सञ्चालनमा रहेका संस्था फेला परेको टोलीले जनाएको छ।
यसैबीच, रिया डायग्नोस्टिक सेन्टरका सञ्चालक ललेन्द्र ठाकुरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको जनाइएको छ।अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्य तथा अधिकारमा प्रत्यक्ष असर पार्ने गतिविधि रोक्न नियमित अनुगमनलाई निरन्तरता दिइने र कानुनविपरीत सञ्चालनमा रहेका व्यवसाय तथा स्वास्थ्य संस्थामाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।




