जनकपुरधाम । धनुषाका विद्यालयमा आधुनिक प्रोग्रामिङ तथा साइबर सुरक्षा शिक्षा निःशुल्क उपलब्ध गराउने उद्देश्यले नेपाली मूलका अमेरिकी माध्यमिक तहका विद्यार्थी आर्यन सिंहले ‘भिस्कार’ (Viskar) नामक गैरनाफामूलक संस्था स्थापना गर्नुभएको छ ।
संस्थाले धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका दुई विद्यालयसँग सहकार्य सुरु गरेको छ । ती विद्यालयका १०० भन्दा बढी विद्यार्थीले संस्थाको शैक्षिक प्लेटफर्ममार्फत प्रोग्रामिङ सिकिरहेको संस्थाले जनाएको छ ।



विद्यालयमा उपलब्ध कम्प्युटर शिक्षाको पाठ्यक्रम पुरानो हुनु र आधुनिक शैक्षिक स्रोतसाधनको अभाव रहनुजस्ता समस्यालाई सम्बोधन गर्न भिस्कारले काम गरिरहेको छ । संस्थाले विद्यालय र विद्यार्थीलाई कुनै शुल्क नलिई आधुनिक पाठ्यसामग्री तथा प्रोग्रामिङ सिक्ने अवसर उपलब्ध गराउँदै आएको छ ।
अमेरिकाको मेरिल्यान्डस्थित पुल्सभिल हाईस्कुलमा अध्ययनरत सिंहले धनुषाका विद्यार्थीमा प्रविधि र प्रोग्रामिङप्रति रुचि भए पनि अद्यावधिक शैक्षिक सामग्रीको अभाव देखेपछि यो पहल सुरु गरेको बताउनुभएको छ । उहाँले विद्यार्थीको प्रोग्रामिङ सिक्ने अवसर विद्यालयको आर्थिक क्षमतामा नभई उनीहरूको रुचि र लगनशीलतामा निर्भर हुनुपर्ने धारणा राख्नुभएको छ ।
भिस्कारले कम्प्युटर वा पाठ्यपुस्तक वितरणमा मात्र सीमित नभई समयअनुकूल पाठ्यक्रममार्फत सीप विकासमा जोड दिएको छ । तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधि क्षेत्रमा विद्यार्थीलाई सुरुदेखि नै आधुनिक ज्ञान र सीप उपलब्ध गराउनु संस्थाको उद्देश्य रहेको छ ।
संस्थाको अनलाइन शैक्षिक प्लेटफर्म वेब ब्राउजरमार्फत सञ्चालन गर्न सकिन्छ । इन्टरनेटको पहुँच भएका कम्प्युटर, ट्याब्लेट र मोबाइल फोनबाट समेत विद्यार्थीले यसमा अध्ययन गर्न सक्छन् । प्लेटफर्ममा सुरुआती तहका विद्यार्थीलाई लक्षित गरी पाइथन प्रोग्रामिङका अन्तरक्रियात्मक पाठ समावेश गरिएको छ ।
प्रोग्रामिङका आधारभूत सीपसँगै साइबर सुरक्षालाई समेत पाठ्यक्रममा समेटिएको छ । यसबाट विद्यार्थीले सुरक्षित र प्रभावकारी कोड लेखनसम्बन्धी आधारभूत ज्ञान हासिल गरी भविष्यमा थप प्राविधिक सीप विकास गर्न सक्ने संस्थाको अपेक्षा छ ।
धनुषाबाट सुरु गरिएको यस पहलको दीर्घकालीन लक्ष्य विद्यार्थीलाई आफैँ प्राविधिक सामग्री निर्माण गर्न सक्ने बनाउनु र प्रविधिको क्षेत्रमा भविष्य निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास विकास गर्नु रहेको सिंहले बताउनुभएको छ ।
भिस्कारको शैक्षिक कार्यक्रममा सहभागी हुन इच्छुक विद्यालयले संस्थाको वेबसाइट www.viskar.org मार्फत जानकारी लिन वा [email protected] मा सम्पर्क गर्न सक्नेछन् ।





