औरही,महोत्तरी –महोत्तरीको औरही नगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा बुधबार केही व्यक्तिले प्रवेश गरी नगर प्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमै हातपात गर्नुका साथै कार्यालय परिसरमा तोडफोड गरेको आरोप लगाइएको छ । घटनापछि नगरपालिकाका कर्मचारीले जनप्रतिनिधि तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

नगरपालिकाका कर्मचारीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बुधबार बिहान करिब ११ः३० बजे केही व्यक्ति समूहमा नगर प्रमुखको कार्यकक्षमा प्रवेश गरेका थिए । सो क्रममा नगर प्रमुखमाथि हातपात, अभद्र व्यवहार तथा कार्यालय परिसरमा तोडफोड गरिएको विज्ञप्तिमा उल्लेख छ । घटनाका क्रममा अन्य जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत हातपात भएको जनाइएको छ ।



कर्मचारीहरूले गुनासा, असमझदारी वा विवादको समाधान सम्बन्धित पक्षबीच संवाद, विधिको शासन र कानुनी प्रक्रियामार्फत गरिनुपर्ने बताएका छन् । कार्यालयमै प्रवेश गरी जनप्रतिनिधि तथा कर्मचारीमाथि हातपात गर्नु र सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नु गम्भीर विषय भएको उनीहरूको भनाइ छ ।

घटनाका कारण कार्यालयको भौतिक सम्पत्तिमा क्षति पुगेको तथा जनप्रतिनिधि र कर्मचारीको सुरक्षामाथि प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ । घटनाले सेवाप्रवाहमा खटिएका कर्मचारीको मनोबलमा समेत असर परेको कर्मचारीहरूले बताएका छन् ।
नगरपालिकाका कर्मचारीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । साथै, तोडफोडबाट सार्वजनिक सम्पत्तिमा भएको क्षतिको सम्बन्धित पक्षबाट कानुनबमोजिम भरपाई गराउन पनि उनीहरूले माग गरेका छन् ।
घटनापछि जनप्रतिनिधि तथा कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरिएको विज्ञप्तिमा जनाइएको छ ।
नगरपालिकाले घटनासम्बन्धी जानकारी तथा आवश्यक कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई समेत बोधार्थ पठाएको जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको भए पनि घटनाको कारण र संलग्न व्यक्तिहरूबारे थप आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ ।





