महोत्तरी- महोत्तरीको औरही नगरपालिका कार्यालय परिसर तथा नगर प्रमुखको कार्यकक्षमा प्रवेश गरी तोडफोड, अभद्र व्यवहार तथा हातपातको प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
बुधबार बिहान करिब ११ः३० बजे औरही नगरपालिका–८ टिम्कियाका केही व्यक्ति विद्युत् ट्रान्सफर्मर जडानको विषयलाई लिएर समूहमा नगरपालिका कार्यालय पुगेका थिए। सोही क्रममा विवाद बढेपछि नगर प्रमुखको कार्यकक्षमा प्रवेश गरी हुलहुज्जत तथा तोडफोड भएको नगरपालिकाले जनाएको छ।



नगर प्रमुख प्रदीपकुमार खड्काका अनुसार टिम्कियामा ट्रान्सफर्मर जडानका लागि नेपाल विद्युत् प्राधिकरणलाई यसअघि नै पत्राचार गरिएको थियो। किसानलाई समेत सहज हुने उपयुक्त स्थानमा ट्रान्सफर्मर जडान गर्ने विषयमा जानकारी गराउँदा–गराउँदै समूहले कार्यालयमा आएर तोडफोड तथा हातपातको प्रयास गरेको उहाँको भनाइ छ।
नगर प्रमुख खड्काले घटनामा विनोद यादवको नेतृत्वमा आएका मणिशंकर यादव, मनिष यादव, मनिष दास, अशोक यादव, बिरिन साह, सन्तोष यादव तथा ट्रयाक्टर चालक मनोहर यादवसहितका व्यक्ति संलग्न रहेको बताउनुभएको छ। उनीहरू सबै औरही–८ निवासी रहेको नगरपालिकाले जनाएको छ।
घटनाका क्रममा नगर प्रमुखसहित जनप्रतिनिधि तथा कर्मचारीमाथि अभद्र व्यवहार र हातपातको प्रयास भएको तथा कार्यालय परिसरमा रहेका सार्वजनिक सम्पत्तिमा समेत क्षति पुगेको नगरपालिकाको दाबी छ।
सम्बन्धित समूहका केही व्यक्ति मादक पदार्थ तथा अन्य नशालु पदार्थ सेवन गरेर आएको नगर प्रमुख खड्काले आरोप लगाउनुभएको छ। पक्राउ परेकाहरूको लागूऔषध सेवनसम्बन्धी परीक्षण गरी घटनाबारे थप अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ। यद्यपि, उनीहरूले नशालु पदार्थ सेवन गरेको भन्ने आरोपको पुष्टि अनुसन्धानबाट हुन बाँकी छ।
घटनालगत्तै पुगेको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।
अत्यावश्यकबाहेकका सेवा स्थगित
घटनापछि बसेको औरही नगरपालिका नगर कार्यपालिकाको बैठकले कार्यालयमा भएको तोडफोड, हुलहुज्जत, अभद्र व्यवहार तथा जनप्रतिनिधि र कर्मचारीमाथि हातपातको प्रयासप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
कार्यपालिकाले घटनामा संलग्न व्यक्तिहरूको आवश्यक अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायमा लेखी पठाउने निर्णय गरेको छ।
नगरपालिका कार्यालय परिसरमा आगामी दिनमा यस्ता अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउने तथा जनप्रतिनिधि र कर्मचारीको सुरक्षालाई प्राथमिकता दिने निर्णयसमेत बैठकले गरेको छ।
यसैगरी, नगरपालिका कार्यालय तथा मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख खड्काले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिको निष्पक्ष पहिचान र अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायसँग आग्रह गरिएको छ। तोडफोडबाट भएको सार्वजनिक सम्पत्तिको क्षति सम्बन्धित पक्षबाट कानुनबमोजिम असुलउपर गर्नसमेत उहाँले माग गर्नुभएको छ।
नगरपालिकाले नागरिकका गुनासा, असहमति तथा माग शान्तिपूर्ण संवाद र कानुनी प्रक्रियामार्फत राख्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।




