आजदेखि सोमवारसम्म मनसुन थप सक्रिय भएर केही ठाउँमा आरिघोप्टे तथा धेरै ठाउँमा मुसल्धारे वर्षाको सम्भावना देखिएपछि विपद व्यवस्थापनको तयारी भइरहेको छ । वर्षाले विपद् आउन सक्ने अनुमान सहित हिजो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पूर्व तयारीका लागि उच्च अधिकारीसहित देशैभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको बैठक गरेको छ ।
प्राधिकरणले आयोजना गरेको भर्चुअल बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित खतरालाई ख्याल गरेर आवश्यक सबै तयारी पूरा गरेर बस्न निर्देशन दिनुभएको छ । उहाँले मानवीय क्षति रोक्नका लागि आवश्यक सतर्कता अपनाउन विपद्को व्यवस्थापन तथा राहत र उद्धार कार्यमा सक्रिय रहन अधिकारीहरूलाई निर्देशन दिनुभएको हो । जल तथा मौसम विज्ञान विभागले आजदेखि सोमवारसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान गरेको छ । खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसल्धारेदेखि आरिघोप्टे वर्षाको समेत सम्भावना देखिएको छ ।
बैठकमा गृह सचिव रामेश्वर दंगालले आवश्यकता हेरेर राजमार्गहरूमा रात्रिकालीन यातायात बन्द गर्न, ट्रेकिङ कार्य रोक्न तथा खतरा रहेका ठाउँबाट मानिसहरूलाई सुरक्षित ठाउँमा सार्नेगरी काम गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ । प्राधिकरणले काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहट आसपासका नदीहरुमा आकस्मिक बहावको सम्भावना देखाएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काभ्रेले बिपी राजमार्गमा आउँदो मंगलवारसम्म रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ र हेटौंडा–भैंसे सडक आजदेखि तीन दिनसम्म रातिको समयमा बन्द गरेको छ ।




