काठमाडौं : भारी वर्षाको पूर्वानुमानपछि शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको पूर्वानुमान गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो।



मन्त्रालयले असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षा पनि आवश्यकताअनुसार स्थगित गर्न विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई अनुरोध गरेको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुनसक्ने जोखिम रहेकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
त्यस्तै सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई सहजीकरण गर्न तथा बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका स्थानमा जान नदिन अभिभावकलाई मन्त्रालयले अनुरोध गरेको छ।




