दसैँको आगमनसँगै जनकपुरधामका प्रसिद्ध राजदेवी मन्दिरसहित अन्य देवीदेवताका मन्दिरलाई आकर्षक ढङ्गले सजाइएको छ ।
मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको जनकपुरधामको राजदेवी मन्दिरमा विजयादशमीका अवसरमा हुने विशेष पूजाआराधनालाई भव्य बनाउन मन्दिरपरिसरलाई सिँगारिएको हो । राजा जनककी कुलदेवीका रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा यस वर्ष पनि विगतको तुलनामा अझ व्यवस्थित र आकर्षक ढङ्गले पर्व मनाउने उद्देश्यसहित मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको राजेवी मन्दिर पूजा व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार आकर्षक र सुन्दर बनाउन विभिन्न खालका प्लास्टिकका फूलमाला, झिलिमिली बत्ती तथा विभिन्न प्रकारका तोरणले मन्दिरको सौन्दर्य बढाएको छ ।




मन्दिर व्यवस्थापन समितिले श्रद्धालु तथा आगन्तुकलाई आकर्षित गर्नुका साथै पूजाआराधनाका लागि सहज वातावरण निर्माण गर्न विशेष योजना अघि सारेको छ । भारतबाट भाडामा ल्याइएका सजावटी सामग्रीको प्रयोग गरी परिसरलाई मनमोहक बनाइएको छ भने धार्मिक अनुष्ठानसँगै सांस्कृतिक कार्यव्रmम र मनोरञ्जनका सामग्रीको व्यवस्थाले दसैँँको रौनक थप बढाउने अपेक्षा समितिले गरेको छ ।

राजदेवी मन्दिरमा विशेष गरी महाअष्टमी, महानवमी र विजयादशमीका दिन भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्छ । मिथिला क्षेत्रका विभिन्न स्थानका साथै अन्य जिल्ला तथा भारतबाट समेत श्रद्धालु यहाँ पुगेर देवीको आराधना गर्ने, परिवारको सुखशान्ति तथा समाज कल्याणको कामना गर्ने परम्परा छ । शक्तिस्वरूपा भगवतीप्रति आस्था राख्ने भक्तजनका लागि यो मन्दिर प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित छ ।

दसैँँका अवसरमा मन्दिरमा हुने पूजाआराधनालाई व्यवस्थित बनाउन सुरक्षा, दर्शन व्यवस्थापन र अन्य आवश्यक सुविधामा विशेष ध्यान दिइएको छ । भिड नियन्त्रण तथा सम्भावित अव्यवस्था रोक्न स्थानीय प्रशासन र आयोजक पक्षबिच समन्वय गरी सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको छ । निगरानीलाई प्रभावकारी बनाउन सिसिटिभी क्यामराको व्यवस्था गर्नुका साथै स्वयंसेवक परिचालन र महिला तथा पुरुषका लागि छुट्टाछ्ट्टै प्रवेश लाइन मिलाइएको समितिले जनाएको छ । साढे तीन दशकदेखि राजदेवी मन्दिरको पूजा व्यवस्थापनमा संलग्न महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहले महावीर युवा कमिटीले यस वर्ष पनि विभिन्न जिम्मेवारी बाँडफाँट गरेर काम अघि बढाएको बताउनुभयो । कमिटीका अध्यक्ष साहका अनुसार भक्तजनलाई सहज रूपमा सेवा उपलब्ध गराउन समिति तथा उपसमिति गठन गरिएको छ भने ५० जना स्वयंसेवक परिचालन गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

उहाँका अनुसार मूलपूजा, कालरात्रि पूजा, सुरक्षा, महाप्रसाद वितरण, खोइँछ भराई, साजसज्जा, लाइन व्यवस्थापन, रावणदहन, खानपान, विजय जुलुस, मनोरञ्जन मेला तथा सरसफाइ जस्ता गतिविधिका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ । विगतका वर्षभन्दा यस पटकको उत्सवलाई अझ भव्य, सभ्य र व्यवस्थित बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । बोका बलिको रसिद शुल्क बढाउने वा यथावत् राख्ने विषयमा समेत पूजा समितिको बैठकबाट निर्णय गरिने उहाँले जानकारी दिनुभयो ।

धार्मिक कार्यव्रmमसँगै सुरक्षा प्रबन्धलाई पनि प्राथमिकता दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार सिसिटिभीबाट निगरानी गर्ने, सुरक्षासम्बन्धी समितिलाई सव्रिmय बनाउने र प्रवेशद्वारमा स्वयंसेवक खटाउने व्यवस्था मिलाइएको छ । भक्तजनको आवागमन सहज बनाउन महिला र पुरुषका लागि अलग अलग लाइन बनाइएको उहाँले जानकारी दिनुभयो ।
साहले दसैँँका अवसरमा मन्दिरपरिसरलाई आकर्षक बत्तीले सजाउनुका साथै सांस्कृतिक गतिविधि सञ्चालन गर्ने र आगन्तुकको मनोरञ्जनका लागि खेल सामग्रीसमेत राखिएको बताउनुभयो । उहाँले ठुलो सङ्ख्यामा श्रद्धालु आउने भएकाले पूजाआराधना, दर्शन र बलिको प्रव्रिmयालाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

विजयादशमीका लागि गरिएको आकर्षक साजसज्जा, सुरक्षा सतर्कता र व्यवस्थापनको तयारीले यस वर्षको पर्वलाई सहज तथा व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । श्रद्धालुको बढ्दो उपस्थितिका बिच धार्मिक विधि, सांस्कृतिक गतिविधि र परम्परागत मान्यतालाई समेट्दै राजदेवी मन्दिरमा दसैँँको उत्सव मनाउने तयारी गरिएको छ ।





