महोत्तरी– बडादसैँको पहिलो दिन घटस्थापनासँगै महोत्तरीको औरही नगरपालिका–७ स्थित प्रसिद्ध सोनामाई शक्तिपीठमा भूत मेला सुरु भएको छ। मेलामा आज बिहानैदेखि दर्शनार्थी तथा पीडित (कारनी) को ठूलो भीड लागेको छ।
सोनामाई मन्दिरका पुजारी केदार झाका अनुसार वर्षौँदेखि दसैँका अवसरमा लाग्दै आएको भूत मेला यस वर्ष पनि परम्परागत रूपमा आयोजना गरिएको हो। उहाँले हरेक वर्षझैँ यस वर्ष पनि हजारौँको सङ्ख्यामा पीडित तथा दर्शनार्थी मन्दिरमा आउने क्रम सुरु भएको बताउनुभयो।



भूतप्रेत, बोक्साबोक्सी, कालो जादुटुना तथा दुष्ट आत्माबाट पीडित भएको विश्वास गरिएका मानिसहरू सोनामाईको दर्शन तथा पूजाआराधनाका लागि यहाँ आउने गरेका छन्। सोनामाईको कृपाले त्यस्ता पीडाबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ।

अर्का पुजारी रमेश झाका अनुसार मन्दिरको सीमाक्षेत्रमा प्रवेश गरेपछि पीडित भनिएका व्यक्तिहरू कराउने, रुने, हाँस्ने तथा लड्नेजस्ता व्यवहार देखाउँदै देवीको दरबारसम्म पुग्ने र दर्शनपछि निको भएर घर फर्किने विश्वास स्थानीयमा छ।
महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, मकवानपुर, सुनसरी, मोरङ तथा काठमाडौँलगायत नेपालका विभिन्न स्थानबाट मेलामा सहभागी हुन मानिसहरू आउने गरेका छन्। भारतको सीतामढी, मधुवनी र पटनालगायत क्षेत्रबाट समेत महिला तथा पुरुष दर्शनार्थी आउने गरेको बताइएको छ।

पुजारी झगरु झाका अनुसार मेलामा सहभागी धामी–झाँक्रीहरू रातदिन भजनकीर्तनमा सहभागी भई परम्परागत धार्मिक अनुष्ठान सञ्चालन गर्ने गर्छन्।
मेला अवधिमा आउने पीडित तथा दर्शनार्थीको सुरक्षाका साथै रातिको बासको समेत व्यवस्था मिलाइएको मेला समितिले जनाएको छ।





