महोत्तरी – छठ पर्व नजिकिँदै गर्दा महोत्तरीको औरही नगरपालिकाका दुई प्रमुख छठघाटका पोखरी जलकुम्भीले भरिएका छन्। पर्व आउन १६ दिन मात्रै बाँकी रहँदासमेत पोखरीको सरसफाइ तथा छठघाट व्यवस्थापनको काम सुरु हुन नसक्दा स्थानीयवासी चिन्तित बनेका छन्।
औरही नगरपालिका–१ स्थित औरही गाउँको पूर्वपट्टि रहेको पोखरी र वडा नं. २ स्थित श्री प्रसाद सिंह नमुना माध्यमिक विद्यालयको पछाडि रहेको पोखरीको अवस्था उस्तै छ। दुवै पोखरीमा वर्षौंदेखि स्थानीयवासीले छठ पर्व मनाउँदै आएका छन्। तर, अहिले पोखरी जलकुम्भी र फोहोरले भरिएका छन्।




यस वर्ष कात्तिक २९ गते छठ पर्व मनाइँदैछ। पर्वको तयारीमा जुट्नुपर्ने समयमा समेत पोखरीको सरसफाइ सुरु नहुँदा व्रतालु तथा श्रद्धालु भक्तजनलाई समस्या हुने देखिएको छ। नगरपालिकाको मातहतमा रहेका दुवै पोखरीको व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ।

नगरपालिकाले वडा नं. १ को औरही गाउँको पूर्वपट्टि रहेको पोखरी र वडा नं. २ स्थित विद्यालय पछाडिको पोखरी ठेक्कामा लगाउँदै आएको छ। स्थानीयका अनुसार दुवै पोखरीको पुरानो ठेक्का सम्झौताको म्याद समाप्त भइसकेको छ। ठेक्काबापत नगरपालिकाले असुल गर्नुपर्ने राजस्वसमेत बाँकी रहेको विषय स्थानीयस्तरमा चर्चामा छ।

औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काले दुवै पोखरीको नयाँ ठेक्काका लागि नगरपालिकाले आवेदन खुला गरिसकेको जानकारी दिनुभयो। पुरानो ठेक्का सम्झौताको म्याद समाप्त भइसकेको उल्लेख गर्दै उहाँले ठेक्काबापत असुल गर्नुपर्ने राजस्व उठाउन नगरपालिका कानुनी प्रक्रियामा रहेको बताउनुभयो।

औरही नगरपालिका–२ निवासी घनश्याम यादवले वर्षौंदेखि स्थानीयवासीले श्रद्धापूर्वक छठ मनाउँदै आएको पोखरीको अवस्था दयनीय हुँदा पनि सरसफाइमा ढिलाइ हुनु दुःखद भएको बताउनुभयो।
वर्षौंदेखि यसै पोखरीमा स्थानीयवासीले छठ पर्व मनाउँदै आएका छन्। अहिले पोखरी जलकुम्भीले भरिएको छ। पर्व आउन केही दिन मात्रै बाँकी रहँदा पनि सरसफाइ सुरु भएको छैन, उहाँले भन्नुभयो, नगरपालिका तथा सम्बन्धित जनप्रतिनिधिले तत्काल ध्यान दिएर पोखरी सफा गराउनुपर्छ। छठ हाम्रो आस्था, विश्वास र संस्कृतिसँग जोडिएको पर्व भएकाले यसको व्यवस्थापनमा सबैले जिम्मेवारी लिन आवश्यक छ।

त्यस्तै,औरही नगरपालिका–१ निवासी सुशील ठाकुरले गाउँको पूर्वपट्टि रहेको पोखरीको अवस्था पनि दयनीय रहेको बताउनुभयो। उहाँले नगरपालिकाको मातहतमा रहेको पोखरीको सरसफाइ र व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाकै भएको उल्लेख गर्दै समयमै सरसफाइ नगरे व्रतालु तथा श्रद्धालुलाई समस्या हुने बताउनुभयो।
पोखरी जलकुम्भी र फोहोरले भरिएको छ। समयमै सरसफाइ नगरे छठ मनाउन आउने भक्तजनलाई समस्या हुन्छ, उहाँले भन्नुभयो,नगरपालिकाले तत्काल पोखरी सफा गरी छठघाट व्यवस्थित बनाउनुपर्छ।

औरही नगरपालिका–२ निवासी हरि यादवका अनुसार छठ पर्वका बेला स्थानीयवासीले आपसी सहयोगमा चन्दा सङ्कलन गरी छठघाटमा टेन्ट तथा बत्तीको व्यवस्था गर्दै आएका छन्। तर,यस वर्ष पोखरीकै सरसफाइ नहुँदा स्थानीयवासी निराश छन्।
हरेक वर्ष स्थानीयवासी आफैँले चन्दा सङ्कलन गरेर टेन्ट र बत्तीको व्यवस्था गर्दै आएका छन्। तर,यस वर्ष पोखरी नै जलकुम्भीले भरिएको छ। न नगरपालिकाले चासो देखाएको छ,न वडा कार्यालयले नै, उहाँले भन्नुभयो, स्थानीयवासीले चन्दा उठाएर टेन्ट र बत्तीको व्यवस्था गर्नु आफ्नो ठाउँमा छ, तर पोखरीको सरसफाइ गर्ने जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्छ।

स्थानीयवासीले गाउँका साझा समस्या समाधानमा राजनीतिकर्मी तथा युवाहरूको सक्रियता पनि अपेक्षित रूपमा नदेखिएको गुनासो गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिकर्मी तथा युवाहरूले राजनीतिक आकाङ्क्षा व्यक्त गरिरहेको भए पनि गाउँको धार्मिक, सांस्कृतिक तथा सामाजिक सरोकारका विषयमा आवश्यक पहल हुन नसकेको उनीहरूको भनाइ छ। गाउँका साझा समस्यामा छलफल गर्ने, आवाज उठाउने र समाधानका लागि सामूहिक पहल गर्ने संस्कार कमजोर हुँदै गएको स्थानीयको बुझाइ छ।
औरही नगरपालिका–१ निवासी रामवरण मण्डलले नगरपालिका स्थापना हुनुअघि दीपावली आउनुभन्दा अगाडि गाउँभरि सामूहिक सरसफाइ गर्ने चलन रहेको स्मरण गर्नुभयो। तर, नगरपालिका स्थापना भएपछि पहिलेझैँ सामूहिक सरसफाइ कार्यक्रम सञ्चालन हुन नसकेको उहाँको भनाइ छ।

मण्डलका अनुसार खत्वे समाजले भने हरेक वर्ष औरही नगरपालिका–१ स्थित महादेव पोखरी अगाडि छठ पर्व मनाउने स्थानमा पर्वको एक दिनअघि सामूहिक रूपमा सडक सरसफाइ गर्दै आएको छ। उहाँले गाउँको सरसफाइलाई नियमित कार्यक्रमका रूपमा सञ्चालन गर्न नगरपालिका तथा वडा कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो।

छठ पर्व तराई–मधेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यस पर्वमा व्रतालुहरूले पोखरी, नदी तथा अन्य जलाशयमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। जलाशयको स्वच्छता र छठघाटको सरसफाइ यस पर्वसँग प्रत्यक्ष रूपमा जोडिएकाले यसको व्यवस्थापनलाई विशेष महत्त्व दिइन्छ।
पर्व नजिकिँदै जाँदा पनि पोखरीको अवस्था सुधार हुन नसके व्रतालु तथा श्रद्धालु भक्तजनलाई छठ मनाउन कठिनाइ हुने देखिएको छ। स्थानीयवासीले नगरपालिकाका जनप्रतिनिधि तथा सम्बन्धित निकायलाई तत्काल पहल गरी दुवै पोखरीबाट जलकुम्भी हटाउन, सरसफाइ गर्न र छठघाट व्यवस्थित बनाउन माग गरेका छन्।





