महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित चिनिमिल चोकदेखि उत्तरतर्फ रेल्वे छेउमा रहेको बन्सक्ती माता मन्दिर स्थानीय बासिन्दाको धार्मिक आस्था, विश्वास र सामाजिक एकताको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।
वि.सं. २०७४ चैत ३० गते भव्य कलश यात्रासहित उद्घाटन गरिएको यस मन्दिरको स्थापना तथा विकासमा कुनै एक व्यक्तिको नभई सम्पूर्ण गाउँवासीको सामूहिक योगदान रहेको छ। स्थानीय बासिन्दाको आपसी सहयोग, सद्भाव र सहभागिताबाट मन्दिरले वर्तमान स्वरूप प्राप्त गरेको हो।



स्थानीय बासिन्दाका अनुसार विगतमा गाउँका मानिस गाईवस्तु चराउन नियमित रूपमा जंगल जाने गर्थे। जंगलमा गाईवस्तु चराएर सकुशल घर फर्किने गरेको अनुभवसँगै यस स्थानप्रति धार्मिक विश्वास र आस्था जोडिँदै गएको बताइन्छ। सोही विश्वासका आधारमा स्थानीयवासीले यस स्थानमा बन्सक्ती माताको पूजा–आराधना गर्न थालेका थिए। समयक्रमसँगै धार्मिक आस्था बढ्दै गएपछि गाउँवासीको सामूहिक पहलमा मन्दिर स्थापना गरिएको हो।
मन्दिरमा प्रत्येक वर्ष अष्टजाम, एकाह, नवाहलगायतका धार्मिक अनुष्ठान आयोजना हुँदै आएका छन्। भजन–कीर्तन तथा भण्डारासहितका कार्यक्रमले मन्दिर परिसरलाई भक्तिमय बनाउने गरेका छन्। यस्ता धार्मिक गतिविधिले स्थानीयवासीबीच आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउँदै आएको छ।
मन्दिर परिसरको सरसफाइ तथा व्यवस्थापनमा रामनगर युवा क्लबले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। क्लबको पहलमा मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै बिजुली बत्तीसमेत जडान गरिएको छ। यसले धार्मिक कार्यक्रममा सहभागी हुने भक्तजनलाई सहजता प्रदान गर्नुका साथै मन्दिर परिसरलाई व्यवस्थित बनाउन सहयोग पुर्याएको छ।
बन्सक्ती माता मन्दिर कुनै एक व्यक्तिको निजी प्रयासबाट नभई सम्पूर्ण गाउँवासीको सामूहिक आस्था, विश्वास र सहकार्यबाट निर्माण भएको धार्मिक सम्पदा हो। स्थानीयवासीको एकता र सामूहिक प्रयासबाट धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकास गर्न सकिन्छ भन्ने उदाहरणसमेत यस मन्दिरले प्रस्तुत गरेको छ।
मन्दिरको संरक्षण, सरसफाइ र पूर्वाधार विकासलाई निरन्तरता दिँदै धार्मिक तथा सांस्कृतिक परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न स्थानीय समाज, गाउँवासी र युवा क्लबबीचको सहकार्य आवश्यक देखिएको छ।




