औरही(महोत्तरी) – नेपाली कांग्रेस औरही नगर कार्यसमितिलाई पूर्णता दिँदै पदाधिकारी तथा सदस्य चयन गरिएको छ । महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई मन्दिर परिसरमा आयोजित नगर कार्यसमिति पूर्णता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नयाँ पदाधिकारी र सदस्य चयन गरिएको हो ।
नगर सभापति मैथुल प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी संगठन विस्तार, कार्यकर्ताबीच एकता, आपसी सम्बन्ध सुदृढीकरण, नगरस्तरीय राजनीतिक परिस्थितिको समीक्षा तथा भावी कार्यदिशाका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा छठ तथा सामाचकेवा पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।




कार्यक्रममा नगर उपसभापति (महिला) मा सुनिता ठाकुर, सचिवमा रामु यादव र सहसचिवमा श्यामकिशोर यादव चयन हुनुभएको छ ।
त्यसैगरी महिला सदस्यतर्फ वडा नं. १ देखि ९ सम्म क्रमशः किरण राउत, रिंकु देवी, गोल्हिया देवी, पर्मिला देवी सदा, लक्षमीनिया देवी मण्डल, दौलतिया देवी, तेतरी देवी सदा, इन्दु देवी सदा र प्रेमकान्ति देवी चयन हुनुभएको छ ।
खुला सदस्यतर्फ हरि यादव, सञ्जय यादव, शेषनारायण साह, रामपुनित यादव, दिलीप यादव, रामनाथ यादव, रामईश्वर यादव, रामशङ्कर यादव र मोहन बैठा चयन हुनुभएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्वसांसद महेन्द्रकुमार राय रहनुभएको थियो । विशिष्ट अतिथिमा महोत्तरी क्षेत्र नं. ४ का क्षेत्रीय सभापति ललित यादव तथा महाधिवेशन प्रतिनिधिहरू सुशील यादव, उत्तिम प्रसाद यादव, सुनिता ठाकुर र रिन्कु यादव सहभागी हुनुभएको थियो ।
त्यसैगरी नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वऔरही नगरप्रमुख सुनिलकुमार यादव, पूर्वनगर सभापति योगेन्द्र यादव, जिल्ला कोषाध्यक्ष वीरेन्द्र यादव, औरही नगरपालिका–८ का वडाध्यक्ष रामआश्रय यादव, वडा नं. ९ का वडाध्यक्ष रघुनन्दन चौधरी तथा मनराशिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वसांसद रायले पार्टी संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । पार्टीको वास्तविक शक्ति कार्यकर्ता भएकाले सबैलाई समेटेर संगठनलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले छठ तथा सामाचकेवा पर्वका अवसरमा जिल्लावासी, नगरवासी, पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वनगरप्रमुख सुनिलकुमार यादवले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै संगठन विस्तार र जनसम्पर्कलाई तीव्रता दिनुपर्ने बताउनुभयो । नगरका सबै वडा तथा टोलमा संगठन विस्तार गरी युवा, महिला, बुद्धिजीवी र अनुभवी कार्यकर्तालाई समेट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
निर्वाचनका समयमा मात्र नभई नियमित रूपमा जनताको सुखदुःखमा सहभागी हुँदै स्थानीय समस्या पहिचान र समाधानका लागि पार्टीका नेता तथा कार्यकर्ता क्रियाशील हुनुपर्ने उहाँको भनाइ थियो ।

जिल्ला कोषाध्यक्ष वीरेन्द्र यादवले नगरदेखि वडा र टोल तहसम्म संगठन सुदृढ बनाउनुपर्ने बताउनुभयो । पुराना तथा अनुभवी कार्यकर्ताको योगदानको सम्मान गर्दै युवा र महिलालाई समेत संगठनमा उचित जिम्मेवारी दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
पूर्वनगर सभापति योगेन्द्र यादवले पार्टी संगठनलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा सक्रिय बनाउनुपर्ने बताउनुभयो । वडा तथा टोल तहसम्म संगठन विस्तार गर्दै नेता तथा कार्यकर्ताबीच आपसी विश्वास र समझदारी कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
क्षेत्रीय सभापति ललित यादवले संगठनलाई वडा तथा टोल तहसम्म विस्तार गर्दै एकताबद्ध र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । पार्टीका पुराना तथा अनुभवी कार्यकर्ताको योगदानको सम्मान गर्दै युवा, महिला र नयाँ पुस्तालाई समेत जिम्मेवारी दिएर अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।

महाधिवेशन प्रतिनिधि सुशील यादव र उत्तिम प्रसाद यादवले पार्टीको नीति, सिद्धान्त र विचारलाई जनस्तरसम्म पुर्याउँदै संगठनलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो । पार्टीभित्र देखिने मतभेदलाई संवाद र सहमतिका माध्यमबाट समाधान गरी सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
महाधिवेशन प्रतिनिधि सुनिता ठाकुरले पार्टी संगठनलाई समावेशी र प्रभावकारी बनाउन महिलाको सहभागिता तथा नेतृत्वदायी भूमिकालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । वडा तथा टोल तहसम्म महिलालाई संगठित गर्दै पार्टीका गतिविधिमा सक्रिय बनाउनुपर्ने उहाँको भनाइ थियो ।
औरही नगरपालिका–१ का वडा सभापति सुजित यादवले वडास्तरबाटै संगठन निर्माण, जनसम्पर्क तथा कार्यकर्ता परिचालनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

यसैगरी मनराशिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेले वर्तमान केन्द्र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सरकार जनताका समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाउँदै महँगी बढ्दा सर्वसाधारण प्रभावित भएको बताउनुभयो ।
पत्रकारिता क्षेत्र तथा विभिन्न संघसंस्थामाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उहाँले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र संघीयताको संरक्षण आवश्यक रहेको धारणा राख्नुभयो । विभिन्न राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै उहाँले पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा संगठनलाई थप सक्रिय बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा औरही नगरपालिकाका नौवटै वडाका वडा सभापतिहरूको सहभागिता रहेको थियो । सहभागी वडा सभापतिहरूमा वडा नं. १ का सुजित यादव, वडा नं. २ का नागेन्द्र साह, वडा नं. ३ का लालकिशोर यादव, वडा नं. ४ का रामपृत साह, वडा नं. ५ का ब्रह्मदेव राय, वडा नं. ६ का वीरेन्द्र यादव, वडा नं. ७ का दिलीप यादव, वडा नं. ८ का श्रीप्रसाद यादव र वडा नं. ९ का महेन्द्र महतो रहनुभएको थियो ।
कार्यक्रममा संगठन विस्तार, कार्यकर्ताबीच आपसी सम्बन्ध सुदृढीकरण, नगरको राजनीतिक अवस्थाको समीक्षा तथा भावी कार्यदिशाका विषयमा खुला छलफल भएको आयोजकले जनाएको छ । नगर कार्यसमितिलाई पूर्णता दिएसँगै पार्टी संगठनलाई वडा तथा टोल तहसम्म सक्रिय र व्यवस्थित बनाउँदै आगामी राजनीतिक गतिविधिमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा सहभागी हुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक र लोकतन्त्रप्रेमी नागरिकप्रति नेपाली कांग्रेस औरही नगर कार्यसमितिले आभार व्यक्त गरेको छ ।



















