वीरगन्ज – वीरगन्ज महानगरपालिका–२७ कुहँडीमा एक समूहको गतिविधिका कारण दलित समुदायका स्थानीय बासिन्दा त्रसित बनेका छन् । छठ पर्वको अन्तिम दिन गत सोमबार भएको सामान्य विवादपछि एक समूहले दलित समुदायका व्यक्तिमाथि पटक–पटक आक्रमणको प्रयास गर्नुका साथै घर तोडफोड, खानेपानीको बोरिङको पाइप काट्ने र गालीगलौज गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीयका अनुसार सामान्य भनाभनबाट सुरु भएको विवादले उग्र रूप लिएपछि दलित समुदायका बासिन्दाले असुरक्षित महसुस गर्न थालेका हुन् । विवादपछि उक्त समूहले दलित समुदायका व्यक्तिलाई लक्षित गरी विभिन्न किसिमका दुर्व्यवहार तथा अवाञ्छित गतिविधि गर्दै आएको उनीहरूको भनाइ छ ।



कुहँडीमा दलित समुदायको बस्ती तुलनात्मक रूपमा कम र अर्को समुदायको बस्ती बढी रहेकाले बहुसंख्यकको आडमा आफूहरूमाथि दबाब र दुर्व्यवहार भइरहेको स्थानीय शेरबहादुर पासवानले बताए । उनका अनुसार घरमा तोडफोड गर्ने, खानेपानीका लागि प्रयोग हुँदै आएको बोरिङको पाइप काटिदिने तथा सार्वजनिक रूपमा गालीगलौज गर्ने घटनाले स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ ।
घटनापछि दलित समुदायका परिवार घरबाहिर निस्कनसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको स्थानीय रमेशर हजारले बताए । गाउँमा पछिल्लो समय बढ्दै गएको तनावले सामाजिक सद्भावसमेत खल्बलिने जोखिम रहेको उनको चिन्ता छ ।स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा दलित समुदायका परिवारको सुरक्षाको प्रत्याभूति गराउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।
जातीय आधारमा हुने विभेद, दुर्व्यवहार तथा हिंसा कानुनविपरीत हुने भएकाले घटनालाई गम्भीरतापूर्वक लिएर तत्काल आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग छ । साथै, गाउँमा शान्ति सुरक्षा कायम गर्दै सबै समुदायबीच आपसी सद्भाव र सहअस्तित्वको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।




