महेन्द्रनगर (धनुषा) । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका स्थानीय व्यापारीले बुधबार बजार बन्द गरी प्रदर्शन गरेका छन् । जनकपुर भन्सार कार्यालयले स्थानीय व्यापारीको गोदाममा छापा मारेर सामान नियन्त्रणमा लिएको विरोधमा छिरेश्वरनाथ उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यापारीले प्रदर्शन गरेका हुन् ।
आइतबार जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले महेन्द्रनगरस्थित व्यापारी शिवशङ्कर साहको शङ्कर शम्भु जनरल स्टोरको गोदाममा छापा मारेर खर्बुजाको बीउ, बदाम, पार्ले चकलेटलगायतका सामान नियन्त्रणमा लिएको थियो ।



छिरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले वैध रूपमा खरिद गरिएका सामानका बिलबिजक हुँदाहुँदै प्रशासनले गोदामको ताला तोडेर सामान उठाएर लगेको विरोधमा बजार बन्द गरी प्रदर्शन गर्नुपरेको बताउनुभयो ।
कागजातको अध्ययन नगरी सामान नियन्त्रणमा लिने कार्यले व्यवसायीलाई निरुत्साहित बनाएको बताउँदै उहाँले सामानको स्रोत र वैधताबारे आवश्यक अनुसन्धान गरेर मात्र कारबाही अघि बढाउन माग गर्नुभयो ।
यसअघि व्यापारी साहले पत्रकार सम्मेलन गरी आफूले नियमित रूपमा कर तिर्दै आएको र गोदाममा रहेका सामानका खरिद तथा बिक्रीसम्बन्धी बिलबिजक रहेको दाबी गर्नुभएको थियो । उहाँले करिब ७५ देखि ८० लाख रुपियाँ बराबरको सामान लगिएको दाबी गर्दै खर्बुजाको बीउ मात्रै करिब ३२ लाख रुपियाँ बराबरको रहेको बताउनुभएको थियो ।
व्यापारी साहले अधिकांश सामान नेपाली उत्पादन तथा वैध रूपमा खरिद गरिएका रहेको दाबी गर्नुभयो । उहाँका अनुसार आफूले नियमित रूपमा कर तिर्दै आएको र आफ्नो व्यवसायका करसम्बन्धी कागजातसमेत अद्यावधिक रहेका छन् ।
यता, जनकपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मानबहादुर पौडेलले भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको खुलेपछि गोदाममा छापा मारेर सामान नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले १६ लाख ९६ हजार रुपियाँ बराबरको सामान नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।




