भारतको बनारसबाट अपहरणमा परेका भनिएका धनुषा जिल्लाका एक नेपाली विद्यार्थीलाई भारतीय सुरक्षा निकायले सकुशल उद्धार गरेको र नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिइएको छ ।
धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राम बिनोद यादवद्वारा जारी प्रेस विज्ञप्ति अनुसार धनुषा जिल्लाको शहीदनगर नगरपालिका–२ मा पर्ने मतौनाका चन्दन यादव (रामकृष्ण यादव) काठमाण्डुस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत थिए । उनी पर्व मनाउन घर आएका बेला पुनः काठमाडौं फर्किने क्रममा हराएका थिए ।



सो विज्ञप्तिमा उल्लेख भए अनुसार असोज २ गते बिहान करिब ६ः१५ बजे काठमाण्डु पुग्नुपर्ने चन्दन त्यसपछि परिवारसँग सम्पर्कविहीन बनेका थिए । बालकुमारी पुल क्षेत्रबाट कोटेश्वरतर्फ जाने क्रममा उनी सम्पर्कबाट बाहिरिएको जनाइएको छ । सम्पर्कविहीन हुनुअघि उनले आफ्ना नजिकका व्यक्तिसँग फोनमा कुराकानीसमेत गरेका थिए । परिवारजनले खोजी कार्य तीव्र बनाएका बेला पछि चन्दन अपहरणमा परेको तथ्य सार्वजनिक भएको थियो । घटनालगत्तै नेपाल तथा भारतका सम्बन्धित निकायसँग समन्वय गरी खोजी तथा उद्धार प्रयास अघि बढाइएको थियो ।
सांसद यादवले भारतीय सुरक्षा निकायको समन्वय र निरन्तर प्रयासका कारण चन्दनलाई सकुशल उद्धार गर्न सफलता मिलेको जानकारी दिएका छन् । हाल आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनलाई नेपाल फर्काउने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ । घटनामा चन्दन यादवको खोजी, उद्धार तथा सुरक्षाका लागि भूमिका निर्वाह गर्ने भारत सरकार, नेपाल सरकार, सुरक्षा निकाय, प्रशासनिक अधिकारी तथा सहयोगी सबैप्रति सांसद यादवले धन्यवाद व्यक्त गरेका छन् । साथै, चन्दनको सकुशल उद्धारका लागि निरन्तर सहयोग, सद्भाव र प्रार्थना गर्ने सर्वसाधारण नागरिक, शुभेच्छुक तथा सञ्चारकर्मीप्रति पनि आभार प्रकट गरिएको छ ।
सो घटनाले नेपाल र भारतबीचको आपसी सहयोग, समन्वय तथा सुरक्षा संयन्त्रबीचको सहकार्यको महत्वलाई पुनः प्रमाणित गरेको सांसद यादवले बताएका छन् । चन्दनलाई सुरक्षित रूपमा नेपाल ल्याइ परिवारसँग पुनर्मिलन गराउने प्रक्रिया अघि बढाइएको छ ।




