महोत्तरी – महोत्तरीको बलवा नगरपालिका–९ स्थित अध्यानपुरअन्तर्गतको नयाँ टोलको नाम परिवर्तन गरी ‘ईस्लामपुर’ राखिएको भन्दै सामाजिक सञ्जालमा गरिएको घोषणाले स्थानीयस्तरमा विवाद उत्पन्न गरेको छ ।
सम्बन्धित वडा कार्यालयको आधिकारिक निर्णयबिना टोलको नाम परिवर्तन गरिएको भन्दै यस विषयमा स्थानीयस्तरमा चासो र असन्तुष्टि व्यक्त हुन थालेको छ ।



बलवा नगरपालिका–९ का वडाध्यक्ष सनाउल्लाह शेषले सामाजिक सञ्जालमार्फत गरिएको नाम परिवर्तनको घोषणाप्रति असहमति जनाउँदै वडा कार्यालयबाट त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको छ ।
उहाँका अनुसार अध्यानपुरको गसनगर टोलदेखि उत्तरतर्फ दुईवटा नयाँ बस्ती विस्तार भएका छन् । ती बस्तीको नामकरण स्थानीयवासीको सहमति र छलफलका आधारमा गरिने उहाँले बताउनुभयो । हाल ती बस्तीलाई अध्यानपुर नयाँ टोल र उत्तरवारी टोलका रूपमा चिनिँदै आएको उहाँको भनाइ छ ।
वडाध्यक्ष शेषले आगामी मङ्सिर २५ गते वडा कार्यालयमा बैठक राखेर वडाभित्र विस्तार भएका नयाँ टोलहरूको नामकरणलगायत विषयमा छलफल गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
यसैबीच, बलवा नगरपालिकाका नगरप्रमुख रामविजय महतोले पनि नयाँ टोलको नाम परिवर्तन गरिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभएको छ ।
स्थानीयस्तरमा बस्ती तथा टोलको नामकरण गर्दा स्थानीय पहिचान, ऐतिहासिक पृष्ठभूमि र बासिन्दाको सहमतिलाई ध्यान दिनुपर्ने देखिन्छ । सामाजिक सञ्जालमा नाम घोषणा हुँदैमा त्यसले स्वतः आधिकारिक मान्यता प्राप्त नगर्ने भएकाले सम्बन्धित निकायको प्रक्रिया र निर्णय आवश्यक हुने सरोकारवालाको भनाइ छ ।
आगामी मङ्सिर २५ गते हुने भनिएको वडा बैठकबाट नयाँ टोलहरूको नामकरणसम्बन्धी विषयमा छलफल भई विवाद समाधानको बाटो पहिल्याउने अपेक्षा गरिएको छ ।




