जनकपुरधाम – प्राचीनकालमा माता सीता र भगवान् रामको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको ऐतिहासिक प्रसंगलाई स्मरण गराउँदै विवाहपञ्चमी महोत्सवको निम्ता दिन जनकपुरधामबाट एक टोली शनिबार भारतको अयोध्या प्रस्थान गरेको छ ।
साताव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन अयोध्यावासीलाई औपचारिक निमन्त्रणा दिन जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा नागरिक समाजका प्रतिनिधिसहितको टोली अयोध्याका लागि प्रस्थान गरेको हो ।



जनकपुरधाम–अयोध्या नियमित रेल सेवा सञ्चालनको सुरुवातसँगै सरयू–कमला एक्सप्रेसमार्फत टोली अयोध्या गएको छ । टोलीले अयोध्या पुगेर रामजन्मभूमिसहित विभिन्न धार्मिक तथा सांस्कृतिक निकायका प्रतिनिधिलाई विवाहपञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिने कार्यक्रम रहेको छ । निमन्त्रणाका लागि टोलीले परम्परागत वैवाहिक सामग्रीका रूपमा लत्ताकपडा, गरगहना, भाँडावर्तनलगायतका सामग्री भारका रूपमा समेत लिएर गएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबिचको सदियौँ पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने महत्वपूर्ण अवसर भएको बताए । त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको प्रसंगलाई पुनःजीवन्त बनाउन अहिले पनि जनकपुरधामबाट निमन्त्रणा टोली अयोध्या पठाउने परम्परालाई निरन्तरता दिइएको उनले बताए ।




