
राजविराज । हिन्दू धर्म संस्कृतिको विरोध गरेको भन्दै बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पुत्ला जलाइएको छ । भारत युपिका मुख्यमन्त्री योगी आतित्यनाथ विरुद्ध अभद्र टिप्पणी गरेको भन्दै विश्व हिन्दु परिषद नेपालले पुर्व प्रधानमन्त्री भट्टराईको पुत्ला दहन गरेको छ ।
परिषदका स्वयंसेवकहरुले सप्तरीको सदरमुकाम राजविराजमा भट्टराईको पुत्ला दहन गरेको हो । परिषदका सदस्य तथा स्वयंसेवकहरुले भट्टराईको पुत्लालाई नगर परिक्रमा गराउँदै राजविराजको दशन चौकमा पुत्ला दहन गरेका थिए ।योगी आदित्यनाथले गंगा नदीमा दुध प्रवाह गरेको विषयललाई लिएर डा. भट््टराईले समाजिक संजालमा अपशब्द लेखेको विषयलाई लिएर परिषदले पुत्ला दहन गरेको सगरमाथाको सह इन्चार्ज जंग बहादुर सिंहले बताए ।
यस्तै धनुषामा पनि बुधबार दिउँसो राष्ट्रीय एकता अभियानका अध्यक्ष विनय यादवको समेत उपस्थितिमा अभियानका जनकपुर संयोजक मनीष पुर्बे, सदस्य चन्द्र भानु साह, सरोज यादव र दीपेन्द्र साहको नेतृत्वमा पुत्ला दहन गरिएको राष्ट्रीय एकता अभियानकी उपाध्यक्ष सुनिता साहले जनाकारी दिए ।
अभियानका कार्यकर्ताहरुले जनकपुरको जनक चोकमा प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा डाक्टर भट्टराईको पुत्लासमेत जलाइएको थियो । डाक्टर भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहेको उनीहरुले आरोप लगाएका छन् । सो विरुद्ध अभियानका कार्यक्रताहरुले विरोध जनाएका छन् । डाक्टर भट्टराईले सामाजिक सञ्जलमार्फत् हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

