जनकपुरधाम- प्रदेश २ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सञ्चालन गरेको विभिन्न कार्यक्रमका लागि गत आर्थिक वर्ष एक अर्ब २५ करोड ५५ लाख १६ हजार रुपैयाँ लगानी भएको छ।
तीन तहका सरकारको सहभागितामा कृषिको आधुनिकीकरण, विशिष्टीकरण तथा औद्योगिकीकरण गरेर मुलुकलाई कृषिमार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले परियोजनाले जोन, सुपर, ब्लक तथा पकेटको कार्यक्रम सञ्चालन गरेको छ। परियोजनाको कृषि सुपर जोन तथा जोन कार्यक्रम संघीय सरकारले स्थापना गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समन्वय इकाई कार्यालयले सञ्चालन गरेको छ।
अहिले प्रदेश २ मा प्रदेश सरकारमार्फत कृषि ब्लक तथा स्थानीय सरकारमार्फत पकेटको कार्यक्रम सञ्चालनमा भइरहेका छन्। परियोजनाले सञ्चालन गरेको सुपर जोन तथा जोन कार्यक्रमअन्तर्गत ३५ करोड २१ लाख १६ हजार रुपैयाँ लगानी गरेको छ।
परियोजना समन्वय इकाई जनकपुरधामका प्रमुख युगलकिशोर तिवारीले प्रदेश सरकारको ब्लक कार्यक्रमअन्तर्गत ३६ करोड ९४ लाख ४० हजार र प्रदेश २ को १३६ स्थानीय तहमार्फत सञ्चालनमा रहेको पकेट कार्यक्रमअन्तर्गत ५३ करोड ४० लाख रुपैयाँ लगानी गरेको जानकारी दिए। परियोजनाले धान, मकै, गहुँ, तरकारी, आलु, आँप, केरा, दूध (गाई, भैँसी), माछा, मासु (बाख्रा, बंगुर), तेलहन‚ दलहन बाली उत्पादन बढाउने क्षेत्रमा कृषकलाई विभिन्न प्रकारको सहयोग गर्ने गरेको छ।
गत आर्थिक वर्षमा कोरोनाका महामारीका कारणले प्रगतिमा केही समस्या भए पनि परियोजनाको हालसम्म ८३ प्रतिशत प्रगति भएको परियोजनाका समन्वय इकाईका प्रमुख तिवारीको भनाइ छ। प्रदेश २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कृषि क्षेत्रको रूपान्तरण अपरिहार्य भएको बताए। उनले वित्तीय प्रगतिको कुनै अर्थ हुँदैन भन्दै उत्पादन तथा उत्पादकत्व वृद्धिमा कति प्रगति भयो र लक्षित वर्गका जनताले कति लाभ लियो त्यो महत्त्वपूर्ण विषय भएको बताए।