
समाचार लेखेको पारिश्रमिक नपाएको तीन वर्षभन्दा बढी भएपछि वाक्कदिक्क हुँदै नागरिक दैनिकका पाँच जना संवाददाता आजदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।
नागरिक दैनिकको कार्यालय सुन्धारा परिसरमा बुधबार दिउँसो तीन बजेदेखि धर्नामा बसेका पत्रकारहरूमा महोत्तरीका महेशकुमार दास, सर्लाहीका टङ्क क्षेत्री, पाँचथरका गिरिराज बाँस्कोटा, सिन्धुलीका अनिल भण्डारी र तनहुँका श्रीहरि पौडेल छन् ।
धर्नास्थलमा नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक) पीडित पत्रकारहरूका तर्फबाट चार बुँदे मागसहितको कालो ब्यानर टाँसेका छन् । ब्यानरमा नागरिक दैनिकका जिल्लास्थित २४ समाचारदाताहरूको नाम तथा हस्ताक्षर पनि राखिएको छ ।
विज्ञप्तिमा आन्दोलित पत्रकारहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध नगराए यसविरुद्ध दबाबमूलक सङ्घर्षका कार्यक्रममा उत्रन महासङ्घ बाध्य हुने चेतावनी पनि दिएको छ ।धर्नामा बसेका श्रमजीवी पत्रकारहरूले हालसम्मको बाँकी सम्पूर्ण पारिश्रमिक रकम तत्काल भुक्तानी गर्नुपर्ने माग एक नम्बरमा उल्लेख गरेका छन् । त्यसैगरी, कोरोना महामारीको बेलामा श्रमजीवी पत्रकारलाई दुःख दिन नहुने, ६ महिना परीक्षणकाल पूरा गरेका स्ट्रिन्जर (जिल्ला समाचारदाता)सहित कार्यरत सम्पूर्ण पत्रकारहरूलाई स्थायी नियुक्ति दिनुपर्ने र प्रचलित श्रमजीवी पत्रकार ऐनअनुसार सेवा–सुविधा पाउनुपर्ने उनीहरूको अन्य माग छ । बुधबारको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन नेपाल पत्रकार महासङ्घका कार्यबाहक अध्यक्ष रमेश विष्ट, महासचिब रोशन पुरी, पूर्वसचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत पत्रकार नेताहरू सहभागी थिए । आफूहरूले पैसा नपाएको तीन वर्षभन्दा बढी भएको र माग पूरा नभएसम्म धर्ना जारी रहने आन्दोलित पत्रकार महेशकुमार दासले बताए । समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा सम्पादक गुणराज लुइटेलले यससम्बन्धमा आफू केही गर्न सक्दिनँ, मेनेजमेन्टसँग जे–जे कुरा गर्नुपर्छ गर्नु भनेको उल्लेख गर्दै दासले भने, ‘सम्पादकको गैरजिम्मेबारीपूर्ण कुरा सुनेपछि धर्ना बस्न बाध्य भयौँ । माग पूरा नहुञ्जेल आन्दोलन जारी रहन्छ । भोलि अरू पीडित साथीहरू पनि थपिँदै हुनुहुन्छ ।’

जबसम्म आधा श्रमजीवी पत्रकारहरू बाँकी श्रमजीवी पत्रकार साथीको काम र माम खोसिएको रमिता हेर्ने र मिडिया मालिकलाई सघाइबस्ने हुन्छन्, तबसम्म यो समस्या समाधान हुँदैन ।‘ठुला भनिएका मिडिया हाउसमा यसरी पारिश्रमिक माग्दै धर्ना–अनसनमा बस्नुपर्ने परिस्थिति अत्यन्त विडम्बनापूर्ण हो,’ श्रमजीवी पत्रकार सङ्घ नेपालका अध्यक्ष जन्मदेव जैसी भन्छन्, ‘यस्तो परिस्थिति हुँदा पनि सबै श्रमजीवी पत्रकारको आवाज र साथ एक ठाउँ नहुनु अर्को विडम्बनापूर्ण कुरा हो ।’ जैसीका अनुसार जबसम्म आधा श्रमजीवी पत्रकारहरू बाँकी श्रमजीवी पत्रकार साथीको काम र माम खोसिएको रमिता हेर्ने र मिडिया मालिकलाई सघाइबस्ने हुन्छन्, तबसम्म यो समस्या समाधान हुँदैन । तर यो विडम्बनापूर्ण परिस्थितिको जतिसक्दो चाँडो क्रम–भङ्ग हुनु जरुरी छ ।
