महोत्तरी : महोत्तरीको गौशालामा १० दिने श्री सीताराम नाम जाप नवाह महायज्ञ आजबाट सुरु भएको छ ।
गौशाला नगरपालिका वडा नम्बर–९ स्थित डुवरवन्हाको ब्रह्म स्थान (नगर डिँहवार)मा ९ दिने नवाह सुरु भएको हो । ब्रह्म स्थानमा सुरु भएको पुजन कार्यक्रममा २५५ बढी कुमारी कन्या सहभागी सहितको विशाल कलश यात्रा निकालिएको थियो ।
बाजागाजा सहित निकालिएको कलश यात्रा नगरपालिकाको विभिन्न भागको परिक्रमा गरी भरतपुर र गौशाला बजारको बीचमा अवस्थित मरहा खोला (मांडवी गंगा)मा जल भरेर ब्रह्म स्थानमा स्थापित गरिएको श्री सीताराम नाम जाप नवाह महायज्ञ समितिका सचिव रोशन दासले बताए ।
समाजमा अमनचैन, सुख, शान्ति होस भन्ने धार्मिक विश्वासले ९ दिन सम्म “सिताराम सिताराम” जप हुने आयोजकले बताए ।
उक्त महायज्ञमा विभिन्न गाउँका ६ समूहका कृर्तन मण्डलीले साजबाजका साथ आ–आफ्नो प्रदर्शनी गर्नेछन् । यस किसिमका कार्यक्रमले हिन्दु संस्कृतिको जगेर्ना तथा विकासमा टेवा एवं समाजमा शान्तिको आभाष हुने विश्वास गरिन्छ ।