बर्दिबास,महोत्तरी – ‘सबैका लागि हामी’ संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा बर्दिबास नगरपालिका–५ मा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। “सबैका लागि हामी: सबैका लागि स्वास्थ्य” भन्ने मूल नाराका साथ आयोजित उक्त शिविरबाट करिब ३०० जना सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्।

चैत्र १७ गते मंगलबार श्री सेम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ढुङ्ग्रे गढन्ता (बर्दिबास–५) को प्राङ्गणमा सञ्चालन भएको शिविरमा विभिन्न विशेषज्ञ सेवाहरु निःशुल्क प्रदान गरिएको थियो। शिविरमा सामान्य चिकित्सक, स्त्री रोग तथा प्रसुति, बालरोग, शल्यक्रिया परामर्श, नेत्र तथा दन्त सेवा, मधुमेह जाँच, रक्तसमूह पहिचान र निःशुल्क औषधी वितरण लगायतका सेवाहरु उपलब्ध गराइएको थियो।




उक्त कार्यक्रमलाई बर्दिबास नगरपालिका तथा वडा नं.–५ ले संरक्षण प्रदान गरेका थिए भने प्राविधिक सहयोग ‘शुभ स्वस्तिक हस्पिटल प्रा.लि.’ र ‘बालमैत्री पोलिक्लिनिक प्रा.लि.’ ले गरेका थिए।
कार्यक्रमका संयोजक संस्थाका कार्यसमिति सदस्य सागर बस्नेत रहेका थिए। कार्यक्रम समापनका क्रममा संस्थाका अध्यक्षले शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुप्रति धन्यवाद ज्ञापन गरेका छन्।
आयोजक संस्थाले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।

बर्दिबास नगरपालिका उप प्रमुख तारादेवीले उद्घाट्न गरेको बृहत निःशुल्क स्वास्थ्य शिविर संस्थाका अध्यक्ष सुनिल साहको अध्यक्षतामा सम्पन्न भएको हो ।





