वीरगञ्ज। वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बने।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सिंहका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे।



आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्।
यसैगरी, उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत प्राप्त गरे।
महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाइएको थियो ।




