
जनकपुरधाम। कोरोना संक्रमण रोकथामको लागि सरकारले गर्ने निणर्य एकातिर त्यहि सरकारमा सहभागी दलका नेताहरुले गर्ने कामकाज ठ्याक्कै अर्कोतिर देखिएको छ।कोरोना संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने गरी आदेश जारी गरेको लगतै सत्तारुढ दलकै नेता, मन्त्री र मुख्यमन्त्रीहरु सरकारी निणर्यको धज्जी उडाउँदै दैनिक भीड जम्मा गर्ने गरेको देखिएको छ।
प्रदेश २ मा पनि दैनिक कोरोना संक्रमणको उकालो लाग्दै छ। महामारीले भयावह रुप लिएको छिमेकी मुलुक भारतसँग सीमा जोडिएका कारण पनि प्रदेश २ संक्रमणको उच्च जोखिममा छ। यसलाई मध्यनजर गर्दै गत बिहीबार प्रदेश २ सरकारको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो।बैठकमा मुख्यमन्त्री लालबाबु राउत ओमिक्रोन भेरिएन्टसँग लड्न तयारी अवस्थामा रहन सुरक्षा तथा मातहतका निकायलाई निर्देशन दिएका थिए। केन्द्रीय मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रणका लागि भने माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गराएको छ। यस्तै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।
तर त्यो निणर्यको धज्जी उडाउँदै सरकारका घटक जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री राउतसहितको उपस्थितिमा ठूलो भीड जम्मा गरी पार्टी प्रवेश कार्यक्रम गराइएको छ। आइतबार देशकै होचो स्थान धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिकामा ठूलो भीड गरेर जसपाले पार्टी प्रवेश कार्यक्रम गरेको हो।
कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मन्त्री रेणु यादव, मुख्यमन्त्री राउतसहित १२ जना शीर्ष नेताले कांग्रेस र एमालेका कार्यकर्ता जसपामा प्रवेश गराएका छन्।सरकारले लागू गरेको मापदण्ड कुल्चिँदै सत्ताघटक दल र मन्त्री तथा मुख्यमन्त्रीले आफैँले कार्यक्रम गर्न थालेपछि प्रदेश २ मा कोरोनाको जोखिम झन् बढेको स्थानीय बताउँछन्। यसरी नै भीडभाड गरी सभा-सम्मेलन जारी राखे भोलिको दिनमा प्रदेश २ सहित देशैभर कोरोना संक्रमणको अवस्था भयावह हुने खतरा देखेर स्थानीय चिन्तामा परेका छन्।
https://shirishnews.com/news/politics/11527.html/