जनकपुरधाम- महोत्तरीको सुजिता हत्या प्रकरणमा प्रहरीले सार्वजनिक गरेको अडियोले हत्यामा सुजिताको बुवाको संग्लनता पुष्टि हुने आधार पर्याप्त नभएको पीडित परिवारजनले दाबि गरेका छन् ।
पीडित परिवारजनले आज महोत्तरीको सदरमुकाम जलेश्वरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्तरी प्रहरीले कुनै प्रभावमा परेर अनुसन्धानलाई लगत दिशामा लग्न खोजेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा मृतक सुजिताकी आमा ४० वर्षीया सुनिता पाण्डेले महोत्तरी प्रहरीले साउन १८ गते जिल्ला प्रहरी कार्यालयले सुजिताको वुवा ५० वर्षीय कामेश्वर पाण्डेले मुख्य आरोपी ३० वर्षीय रुपेश ठाकुरलाई मार्नलाई उक्साएको र मार्न लगाएको आरोपमा पक्राउ गरी सार्वजनिक गरेकोमा आपति जनाएको छ । सुनिता पाण्डेले रिस उठेको बेला आवेसमा आएर आफ्नो पति तथा मृतक सुजिताको वुवा कामेश्वर पाण्डेले ‘जा मारि दे’ भनेको कुरालाई प्रहरीले आधार बनाउनु सरासर गलत भएको बताउँदै प्रहरीले कुनै प्रलोभनमा परेर केसलाई डाइभर्ट गर्न खोजेको आरोप लगाईन् । उनले वास्तविक अपराधी सुजिताको ससुरा पतिराम ठाकुर, देवरानी रोमी ठाकुर, सासु रामसखि ठाकुर र ट्रयाकटर ड्राईभर भोगि महतो रहेकोमा प्रहरीलाई प्रभावमा पारेर भगाएको आरोप लगाईन् ।
सुजिताको भाई शिवम पाण्डेले आफूहरुले पेश गरेको अडियोको आधारमा प्रहरीले मुद्दा दर्ता गर्न नमान्ने तर आफ्नो वुवालाई अडियोलाई नै आधार बनाएर बुवालाई प्रहरीले कसरी पक्राउ गरेर दोषि साबित गर्न खोजेको हो ? उनले प्रहरीले वुवालाई जबरजस्ती फसाउन खोजेको आरोपले लगाए ।
शिवमले भने, ‘हामीले दाजु जितेन्द्र पाण्डे र सुजिताको देवर रुपेश ठाकुर बिच फोनमा भएको बार्तालापको रेकर्ड सुनाउदा प्रहरीले उल्टै हपकाएर यसको आधारमा जाहेरी दर्ता गर्न नमिल्ने बताएका थिए । तर त्यही मोवाइलभएको इडित गरिएको फोन रेकर्डलाई आधार बनाएर वुवालाई दोसी देखाउन मिल्छ ?’ उनले वुवा कामेश्वर पाण्डे निर्दोष रहेको बताउँदै अपराधी बाहिर खुल्लम खुल्ला घुमिरहेको पनि प्रहरीले वास्तविक अपराधीलाई पक्राउ नगरेको गुनासो गरे।
पीडित परिवारजनले प्रहरी माथिको विश्वास उठिसकेको र प्रहरीद्वारा मरि सकेको मान्छेको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक दिनेश आचार्य विरुद्ध अदालतमा मुद्दा दिने र सडक आन्दोलन गर्ने बताए ।
उनिहरुले कामेश्वर पाण्डेको कल रेकर्ड आएकोमा सुजिताको ससुरा पतिराम ठाकुरको पनि कलरेकर्ड आउनु पर्ने र फरार रहेका पतिराम ठाकुर लगायत परिवारको अन्य सदस्यलाई पक्राउ गर्नु पर्ने माग गरे ।
सुजिताकी आमा सुनिता पाण्डेले प्रहरीले उल्टै हत्याको आरोपी रुपेश ठाकुरले भने झै चलिरहेको घटनालाई अर्कै तर्फ डाइभर्ट गर्न खोजेको आरोप लगाईन् । उनले महोत्तरी एसपी दिनेश आचार्यले आफ्नो मृत छोरी सुजिताको चरित्र हत्या गर्ने प्रयास गर्दै मुद्दालाई कमजोर बनाई अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगानइन्।
उनले छोरी सुजिताको श्रीमान सुस्त मनस्थितिको भएको कारण कमाउन नसक्ने भएकोले छोरीले आफनो बच्चाको पालन पोषण र जीवन निर्वाह गर्न पटक पटक अंश माग गर्दा र केही घडेरी खेत सुजिताको देवरको ससुराली तर्फ को नाममा सारेको कुरालाई लिएर आवाज उठाउदा सुजिता संग विवाद हुने गरेको थियो । उनिहरुले छोरीलाई कुट्पिट गर्दै आएको र डेढ बर्ष पहिला अँखा फुट्ने गरि कुटपिट गरेर तकियाले थिचेर मार्ने प्रयास गरेको जानकारी दिइन् ।
सुनिताले कल रेकर्ड सुजिताको देवर रुपेश ठाकुर र सुजिताको वुवा कामेश्वर पान्डेको मात्र सुनाइ बाँकी ससुरा पतिराम ठाकुर , देवरानी रोमी ठाकुर लगायतको किन सुनाइएन भनेर प्रश्न गर्दै ससुरा र देवरानीको कल रेकर्ड बाहिर ल्याए थप कुरा बाहिर आउने जनाईन् । उनले कतैबाट ठूलो प्रभावमा परि आफ्नो श्रीमान् तथा सुजिताको बुवा कामेश्वर पाण्डेलाई दोषि देखाई अपराधी पतिराम ठाकुरलाई फरार गराइ मुद्दालाई कमजोर बनाइ अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाइन ।
सुनिताको कथन थियो, ‘ हामीले घटना घटेको ३ दिन पछि नै जेष्ठ २० गते छोरीलाई मारेको र जेष्ठ २३ गते नै इलाका प्रहरी पिपरामा खोजतलासको लागि निवेदन दिएको कुरालाई एसपीले महत्व नदिएको तथा असार ४ मा जाहेरी नलिई असार ६ गतेको पुनः खोज तलास कै निवेदन दिन लगाइ आफनो लापरबाही आफनो गल्ती लाई एसपीले लुकाउन खोजेका हुन् ।’
असार १३ गते पहिलो पटक भएको शव उत्खननको क्रममा एसपीले मिडियालाई ससुरा पतिराम ठाकुर र ड्राइभर भोगी महतो आफ्नो सम्पर्क मै रहेको बताएका थिए। तर आज सम्म उनिहरुलाई किन पक्राउ गरिएको छैन ? किन उनिहरुको संरक्षण गरिरहेको छ ? अब छोरीलाई न्याय दिलाउन सडकमा उत्रिनु पर्ने बाध्यता भएको आमा सुनिताले बताइन् ।
त्यसैगरी पत्रकार सम्मेलनमा अभियन्ता गुन्जा राय जो यस घटनामा सुरु देखि दबाब दिइ रहेकी छिन् , उनले यस अघि पनि महोत्तरीमा भएको विभिन्न घटनाको चर्चा गर्दै प्रहरीले गम्भिरता पूर्वक अनुसन्धान नगर्ने गरेको आरोप लगाईन् ।
उनले पछिल्लो पटक भएको केहि घटनाहरुको चर्चा गर्दै प्रहरी प्रशासन माथि विश्वास कमजोर भएको बताईन् । उनले उदाहरण दिएका केहि महोत्तरीको घटनामा जसमा अनुसन्धान फितलो देखिएको ः
मिति २०७८/२/२६ गते लोहारपट्टि ७ भ्रमरपुरा बस्ने ममता साहको जेठाजु रामचन्द्र साहले निजको श्रीमान लक्ष्मण साह बिच कुल देवताको बिषयमा झै झगडा हुदाँ लक्ष्मण साहको मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालयले पुरक जाहेरी लिन नमानेको र महानगरीय प्रहरी बृत महराजगंजमा समेत वयान फेर्ने काम भएको बताइन् । उनले २ लाख धरौटीमा मुख्य अपराधी रामचन्द्र साह जिल्ला अदालतबाट छुटेकाले पिडितलाई कानुन प्रतिको विश्वास उठेको छ ।
मिति २०७७/१०/१० गते भएको घर बाटै झा दम्पति वेपत्ता घटनामा समेत प्रहरीले घटना लुकाउन खोजेको । केन्द्रिय अनुसन्धान व्युरोको संलग्नतामा मात्र घटनामा संलग्न दोषि पक्राउ गरि कानुनको दायरामा ल्याइएकोमा ।
भंगहाबाट एक साथ ७ जना बालिकाहरु हराएको घटनामा जिल्ला प्रहरी कार्यालयको अनुसन्धान कमजोर भएको । यस घटनाको पनि अनुसन्धान हुनु पर्ने ।
अभियन्ता गुन्जा रायले अपराधिक घटनाहरुमा पीडितले न्याय नपाउने गरेको हुँदा पीडकको मनोबल बढ्ने र दण्डहिनता बढेको आरोप लगाइन् ।
त्यसैगरी यस घटनामा सुरु देखि पीडितलाई न्याय दिलाउनलाई अभियान चलाएका अर्का अभियन्ता सरोज रायले भने, ‘सुजिताको हत्या भएको आशंका वारे माइती पक्षले वारम्वार जिल्ला प्रहरीलाई अवगत गराएका थिए, तर प्रहरीले न जाहेरी दर्ता गरे, न अनुसन्धान गर्न चासो देखाए, पछि समाजिक दबाव बढ्दा, डिआइजी, प्रदेश मन्त्री, मधेशी आयोग आदि ले चासो देखाए पछि मात्र अनुसन्धान अगाडी बढ्यो । प्रदेश प्रहरीको कारण शव पनि भेटिएको थियो। शव फेला परेको दिन डिआइजी घटना स्थलमा पुगे तर जिल्लाको एसपी आएनन् किन ? प्रदेश प्रहरीको अनुसन्धान एउटा दिशा लिन थाले पछि उक्त टोलीलाई ब्याक गरियो, किन?’
उनले सुजिताको बुवाको कुनै संलग्नता हत्यामा छ भन्ने उनले पनि सजाय पाउनु पर्छ तर अन्य कुनै पनि कारणले अनुसन्धान गलत दिशामा नजाओस् र एकजना पनि निर्दोष नफसुन बताए । उनले घटनाको सत्य तथ्य र फरारहरु अविलम्ब पक्राउ हुनुपर्ने नत्र पीडित परिवारसंग आन्दोलनमा आफूहरुले लाग्ने बताए ।
यसरी पत्ता लाग्यो हत्याको रहस्य
जेठ २० गतेका दिन देखी मेरी छोरी तथा महोत्तरी, लोहारपट्टी ७ भमरपुरा गाउँ बस्ने मुकेश ठाकुरको श्रीमती २७ वर्षीया सुजिता देवी ठाकुर आफनै घरबाट बेपत्ता भएको हुँदा खोज तलास गरी पाउँ भन्ने ब्यहोराको निजको आमा जिल्ला महोत्तरी, पिपरा गाउँपालिका ६ रतौली गाउँ बस्ने ४० बर्षीया सुनिता कुमारी पाण्डेले असार ६ गतेको निवेदन दिए । तर प्रहरीले सुरुमा खासै चासो नदेखाएको पीडित परिवारजनको आरोप रहेको छ।
यसरी लामो समयदेखि बेपत्ता सुजिताको दाइजोकै कारणले परिवारले हत्या गरेर शव गायब गरेको माइती पक्षले आरोप लगाउँदै आएको थियो। यद्यपि घर पक्षले सुजिता अर्कै केटासँग भागेको बताउँदै आएको थियो।
महोत्तरी भमरपुराकी सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन्। घर पक्षले सुजिता कोही अर्कै केटासँग भागेको बताउँदै आएका थिए। तर माइत पक्षले सुजिताको हत्या परिवारले गरेर लास गायब पारेको आरोप लगाउँदै आएको थियो।
सुजिताका बुवा कामेश्वर पाण्डेले छोरी बेपत्ता भएको र हत्या आशंका गर्दै खोजिदिन भन्दै उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको बताए। बुवा कामेश्वरले भने, ‘प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि महिला सेलमा निवेदन दिएर आएँ।’ उनले तर प्रहरीले चासो लिएर अनुसन्धान नगरेको गुनासो गरे।
यसैबीच वैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको सुजिताका भाई जितेन्द्र पाण्डेले सामाजिक संजाल मार्फत यस घटना उजागर गर्दै घर पक्षले नै दिदीको हत्या गरी आफ्नै खेतमा गाडेको आरोप लगाए। सुजिताका पाँच वर्षीय छोराको एउटा भिडियो पनि सार्वजनिक गरियो। त्यो भिडियोमा ती बालकले आमाको हत्या काका र हजुरबुवाले गरेको बताएका छन्।
प्रहरीले सुजिताको खोजतलासमा कुनै चासो नदिएपछि साउदीबाट नै भाई जितेन्द्रले जनकपुरका चर्चित सामाजिक अभियन्ता सरोज रायलाई सहयोगका लागि आग्रह गरेका थिए।
सरोज राय त्यही अभियन्ता हुन्, जसले साउदीमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई ब्लडमनि व्यवस्थापन गरी नेपाल फर्काउन सफल भएका थिए।
अभियन्ता रायले घटनाबारे थप बुझ्न असार ११ गते सुजिताका माइती रतौली गाउँ पुगेका थिए। उनले सुजिताका बुवा कामेश्वर, आमा र दुई कान्छा भाइ आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए।
त्यसपछि असार १२ गते अभियन्ता रायले प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेका थिए। यस घटनाबारे ध्यानाकर्षण गराए। अभियन्ता रायले यस घटनाको उठान गरेपछि प्रहरी पनि खोजी गर्न बाध्य भएको थियो। असार १२ गते केही प्रहरी आएर पीडित पक्षले लगाएको बताए अनुसार सुजिताको शव गाडेको ठाउँको निरीक्षण गरेको थियो।
घटनाबारे सुजिताको बुवा कामेश्वर पाण्डेले दिएको जानकारी उनकै भाषामा जस्ताको त्यस्तै ः
घटना जेष्ठ २० गते को हो। बिहान करिब आठ बजे सुजिताले मलाई फोन गरेर कस्तो घरमा बिहे गराइदिएको भनेर रिस पोखेकी थिइन्। फोनमा कुरा भइरहँदा पछाडिबाट झगडाको पनि आवाज आइराखेको थियो। केही बेरपछि सुजिताको देवर रुपेश ठाकुरले पनि फोन गरेर मलाई तुरुन्त भमरपुरा आउन भन्यो।
म जाने तरखर मै थिएँ कि फेरि रुपेशको फोन आयो र उनले आउनु पर्दैन झगडा शान्त भयो भन्यो। त्यस दिन सुजितासँग भेट्न हामी कोही गएनौं। भोलिपल्ट सुजिताको मोबाइलमा पटक पटक फोन गर्दा स्विच अफ भनि रह्यो। पछि देवर रुपेशको मोबाइलमा फोन गर्दा पनि उनले उठाएनन्। आधी घण्टापछि रुपेशले आफैं फोन गरेर सुजीताले कोठामा ताल्चा लगाई घर छोडेर भागेको जानकारी दियो।
तर रातिसम्म पनि छोरीसँग कुरा नभएपछि अर्को दिन बिहान आठ बजे सुजिताको हामी बुढा बुढी (सुजिताको बुवा र आमा) भमरपुरा पुग्यौं। रतौलीबाट भमरपुरा मोटर बाटो नजिकै भएकोले दश मिनेटमा पुग्यौं। सुजिताको कोठामा लागेको ताल्चा फोड्न लगाएँ। सुजिताको कपडादेखि सबै समान यथावत थियो। दराजमा गरगहना पनि यथावत् देखें अनि मलाई मनमा शंका जन्मिन थाल्यो। तर घरपक्षले लगातार सुजिता घर छोडेर अर्कै केटासँग भागेको मात्र भनिराखे।
दश वर्ष पहिला सुजिताको बिहे पतिराम ठाकुरको जेठा छोरा मुकेशसँग भएको थियो। यस अगाडि करिब १४-१५ महिना पहिले सुजितालाई ससुरा, सासू, श्रीमान् र देवर सबैजना मिलेर कुटपिट गर्दा सुजिताको आँखामा चोट लागेको थियो। उपचारपछि जलेश्वर अस्पतालमा गराएर प्रहरीमा समेतमा उनले निवेदनसमेत दिएकी थिइन्। पछि श्रीमान् र देवरले आइन्दा कुटपिट नगर्ने लिखित शर्त गरेर प्रहरीले छोडेको थियो।
सुजिताका बुवा कामेश्वर पाण्डे थप्छन् ः
त्यहीबीचमा सुजिताको चिनजान कतारमा कार्यरत पिपरा गाउँपालिका अलिपट्टी निवासी विजय मुखियासँग सामाजिक संजाल मार्फत भएको थियो। बीचबीचमा विजयसँग सुजिताको कुराकानी फोन मार्फत भइरहन्थ्यो। चार-पाँच महिना पहिला विजय कतारबाट गाउँ फर्केका थिए। सुजिता आफ्नो माइती आउँदा विजयसँग एकपल्ट भेटघाट पनि भएको थियो। घटनाको एक दिन अगाडि मात्र सुजिता आफ्नी आमासँग जनकपुर किनमेल गर्न गएकी थिइन् तर घरमा कुनै पनि विवादबारे चर्चा गरिनन्।
https://www.facebook.com/104607344773010/videos/250442406912855बारम्बार घर पक्षले विजयसँग भागेको आरोप लगाएपछि सुजिताको बुवाले नै प्रहरीमा निवेदन दिएर विजयलाई पक्राउ गर्न लगाए तर दिनभरिको सोधपुछ पछि विजयलाई सात दिनसम्म गाउँ नछोड्ने सर्तमा रिहा गरिएको थियो। त्यसपछि माइती पक्षको शंका झन् गहिरो हुन् थालेको थियो।
घटना भएकै दिन सुजिताका ९ वर्षीय छोरी आँचल र ५ वर्षीय छोरा रौनक दुवैलाई घर पक्षले जनकपुर बस्दै आएका फुपू अन्जु ठाकुर कहाँ पठाइदिएका थिए। र अर्को दिन फेरि फर्काएर ल्याएका थिए। घटनाको केही दिनपछि सुजिताको छोरा रौनक रतौली आएका थिए।
सुजिताको आमा र छोरा रौनकले आपसमा कुरा गरेको एक भिडियो भाई जितेन्द्रले सार्वजनिक गरे। जसमा रौनकले आमालाई मारेको, जिउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको पोल खोलेका छन्।
यो भिडियो जितेन्द्रले फेसबुकमा राखेपछि ससुराली पक्षमा चिसो पस्न सुरु भयो।
त्यही बीचमा कसैले फोनबाट सुजिताका बुवालाई जानकारी गराएका थिए। घरपक्षले आफ्नो खेतमा ७-८ फिट गहिरो खाल्डो खनेको थियो, जो अहिले माटोले पुरेर माथिबाट धानको विऊ छरेर छोपिएको छ। सुजिताको शव त्यहीँ गाडिएको थियो। यता सुजिताका भाई जितेन्द्रले लगातार सामाजिक संजालमा सबै कुरा पोस्ट गरिराखेका थिए। जसबाट ससुराली पक्ष पनि त्रसित भइसकेका थिए।
त्यसपछि सुजिताका ससुरा पतिरामले कुरा मिलाउन कामेश्वरलाई बारम्बार दवाब दिन थालेको थियो। जाने गइसक्यो, अब नाति-नातिनीको जीवन बनाउनुस भनेर कामेश्वरलाई मनाउन पतिरामले पटकपटक प्रयास गरेका सुजिताका बुवा पाण्डे बताउँछन्। त्यही बीचमा जितेन्द्र र रुपेशबीच फोनमा कुराकानी पनि भयो। जसमा जितेन्द्रले दिदीको अन्तिम संस्कार जसरी पनि गर्नुपर्छ। त्यसैले शवलाई गाडेको ठाउँबाट निकाल्न रुपेशलाई अनुरोध गरेका र रुपेशले यस्तो अवस्थामा शवलाई निकाले झन् बबाल हुन्छ भन्दै गरेको सुन्न पाइन्छ।
दिदीको हत्या नै भएको प्रमाणहरू अगाडि आउन थालेपछि जितेन्द्रले साउदीबाट नै बुवालाई दिदीका ससुरा पतिरामलाई कुनै दबाबमा नआई प्रहरीमा मुद्दा दर्ता गर्न बारम्बार भनेका थिए।
असार ७ गते माइतपक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन गएका पनि थिए। तर एसपीले दर्ता गर्न मानेनन्, हार मानेर महिला सेलमा निवेदन दिएर फर्के। जबकि एसपीलाई सबै प्रमाण वारे जानकारी गराउँदा पनि चासोको साथ अनुसन्धान नभएको आरोप पीडित पक्षको रहेको छ।
यसैबीच सुजिता ठाकुरको हत्या भएको भनिएको विषयमा मधेसी आयोगले समेत चासो लियो। आयोग अध्यक्ष डा. विजयकुमार दत्तले आयोगमा दर्ता भएको उजुरीका विषयमा आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिए। अध्यक्ष दत्तले घटनाका विषयमा महोत्तरीका प्रहरी प्रमुखलाई टेलिफोन सम्पर्क गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन निर्देशन दिए।
घटनालाई मधेसी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरी अगाडि बढे ।
अनि बल्ल प्रहरीले शव गाडिएको ठाउँको उत्खनन गरे
यसरी विभिन्न ठाउँबाट प्रहरीलाई दबाब र घटनाबारे प्रमाणहरू बाहिर आउन थालेपछि प्रहरीले असार १३ गते बल्ल शव गाडिएको ठाउँको उत्खनन गरे ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले सुजिताको ससुरा पतिराम ठाकुरको घर देखि करिव १ कि.मि.दक्षिण रहेको धानको बिउ छरी उम्रिएको खेतको उत्तर-पूर्व कुनामा ५ फिट लम्वाई र ३.५ फिट गहिरो खाल्टो खनी हेर्दा नुनजस्तो पदार्थ तथा माटो लागेको तन्ना र पर्दाका कपडा भेटिएको, खाल्डो भित्र कुनै अंग नरही महिलाको कपालजस्तो देखिने चिजबस्तुको भाग फेला परेको सोही, चिजबस्तु कानूनी रित पूर्वक मुचुल्का खडा गरी संकलन गरी थप परीक्षणको लागी केन्द्रीय प्रहरी बिधी विज्ञान प्रयोगशाला, सामाखुशी काठमाण्डौमा पठाईयो । फेला परेको सो चिजबस्तुहरू मध्ये कपाल जस्तो देखिने बस्तु संकलन गरी परीक्षणको लागी राखिएको र सुजिताको बुवा कामेश्वर पाण्डे र आमा सुनिता देवी पाण्डे बाट डीएनए ( DNA ) नमुना परीक्षणको लागि आवश्यक पर्ने रगत संकलन गरी परीक्षणको लागि केन्द्रिय प्रहरी बिधी विज्ञान प्रयोगशाला, सामाखुशी काठमाण्डौमा पठाईएछ ।
प्रहरी अनुसन्धान कै क्रममा सोधपुछ गर्दा खुल्न आएका जानकारीहरूलाई मध्यनजर गरी असार २६ गते राती करिव ११ बजे परिचालित प्रहरी टोलीले सोही मध्यराती १ बजेको समयदेखि निरन्तर उत्खनन् गरी बेपत्ता भएकी सुजिताको ससुरा पतिराम ठाकुरको आफ्नो घरदेखि अन्दाजी ५०० मिटर पूर्व तर्फको निर्माणाधिन पेट्रोलपम्प संग जोडिएको काठको गोलियाहरु राख्ने चिरान गोदामको जग्गाको उत्तरतर्फ सबैभन्दा पछिल्लो भागमा निर्माणाधिन ९ फिटको गहिराई, १३ फिट ७ ईन्च लम्वाई र ५ फिट ९ ईन्च चौडाई भएको सेफ्टी ट्यांकीको भित्र पट्टि भुईंको भागमा करिव ६ ईन्च बाक्लो ढलान गरी सो भन्दा मुनि करिव ४ फिट गहिरो खाडल खनि जुटको बोरामा हाली गाडिएको अबस्थामा असार २७ गते बिहान १० बजेको समयमा अर्ध सडिगलि गएको अवस्थामो शव फेला परेको थियो ।
मृतकको बाँकी रहेको कपाल, शरीरमा रहेको कपडा तथा शारिरिक बनोटले उक्त शव सुजिता को नै रहेको भनेर तत्काल उक्त स्थान मै मृतकको बुवा कामेश्वर पाण्डे र आमा सुनिता देवीले सनाखत गरे ।
उत्खननको क्रममा प्रादेशिक अस्पताल जनकपुरका Forensic Expert Doctor समेतलाई सोही स्थलमा झिकाई अवलोकन गराईएको थियो ।
उक्त शवलाई शव परीक्षणको लागि असार २७ गते प्रादेशिक अस्पताल, जनकपुर पठाईएकोमा सोही दिन शव परीक्षण गरी आफन्तहरूले सदगतको लागी जिम्मा बुझि लगेको थियो ।
यस्तो छ प्रहरी अनुसन्धानको दाबि
सुजिताको हत्यामा संलग्नता भएको भन्दै प्रहरीले साउन १८ गते सुजिता कै बुवालाई पक्राउ गरि सार्वजनिक गर्यो ।
गत असार २७ गते सेफ्टी ट्ंयाकी मुनि गाडिएको अवस्थामा शव फेला परेको सुजिता ठाकुरको हत्यामा उनको आफ्नै बुवाको समेत संलग्नता भएको प्रहरीले बताए । प्रहरीले उनको बुवा कामेश्वर पाण्डेय सहित साउन १८ गते थप तिनजनालाई सार्वजनिक गरे । यस अघि सोहि घटनामा मृतकका देवर रुपेश ठाकुर सहित चारजनालाई प्रहरीले सार्वजनिक गरिसकेको थियो । यस घटनामा हाल सातजना प्रहरी नियन्त्रणमा छन् । यता अझै केहि थप आरोपी भएपनि प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले साउन १८ गते पत्रकार सम्मेलन गर्दै मृतकका बुवाले आफ्नै छोरीलाई मार्न पटक पटक रुपेश ठाकुरलाई भनेको अनुसन्धानको क्रममा अडियो प्राप्त भएको बताए । एसपी आचार्यको अनुसार मृतकका बुवाले घटना लुकाउन बार्गेनिंग समेत गरेको अनुसन्धानमा खुलेको वताए । उनले मृतककै नन्द भंगहा १ वस्ने ३५ वर्षिया अंजु ठाकुरले घटना थाहा पाएर समेत लुकाएको आरोपमा पक्राउ परेकि बताए । यता सोहि घटनामा शव व्यवस्थापनमा संलग्न रहेको भनि जनकपुर उपमहानगरपालिका २४ कुटी पोखरी बसहिया वस्ने ५५ वर्षिय प्रमोद भन्ने विनोद मण्डल समेतलाई पक्राउ गरिएको बताए ।
सुजिताको पटक पटक घरबाट आफु खुशी वाहिर जाने र मनोमानी ढंगले वाहिर जादा पैसा लिएर जाने कारणले उनको माईत र ससुराली दुवै तर्फको प्रतिष्ठामा आँच आएको र गाउ समाजमा गाईगुई हुने गरेकोले अव सहिनसक्नु भएर यसलाई मार्नु नै पर्छ भन्ने मनसायको देवर रुपेश र बुवा कामेश्वरको अडियो क्लिप प्राप्त भएको एसपी आचार्यले पत्रकार सम्मेलनमा बताए । उनले थप केहि अडियो क्लिपहरु समेत रहेको बताए ।
दुई पक्ष विचको अडियो क्लिपमा दुवै पक्ष सुजिताको कारण आजित भईसकेको र प्रतिष्ठा नै समाप्त हुन लागेकोले प्रतिष्ठा जोगाउन सुजिता मर्नै पर्ने खालको कुरा उक्त क्लिपमा गरिएको एसपी आचार्यको भनाई रहेको थियो ।
प्रहरीले यसअघि लोहारपटटी नगरपालिका ७ भ्रमरपुराका रुपेश ठाकुर र शव व्यवस्थापनमा सघाएको भनि सोहि ठाउ वस्ने ३७ वर्षिय बण्ठा भन्ने किशोरी मण्डल र उनका भाई ३२ वर्षिय नथुनी मण्डल तथा सोहि ठाउका ३३ वर्षिय आदम राईनलाई पहिले सार्वजनिक गरेको थियो ।
धर्वेन्द्र कुमार यादव 'यदुवंशी' को सहयोगमा तयार सामग्री