
महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं मैतीदेवीस्थित घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन शुरु गरिएको छ ।
काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो । संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको हो ।
महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरु बस्नुहुन्छ । सबै पढे लेखेको बुद्धिजीवी व्यक्तिहरु बस्नु हुन्छ । उहाँहरुको तजबिजले राम्रै गर्नु हुन्छ भन्ने आशामा छु ।
उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’ महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ ।