
काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङले नियुक्तिपत्र बुझेका छन्।
ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले नवनियुक्त कार्यकारी निर्देशक घिसिङलाई नियुक्तिपत्र दिएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनको आजै सपथ ग्रहण कार्यक्रम गर्ने तय भएको छ।
२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएकोमा सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको हो।
नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई फेरी जिम्मेवारी दिन सर्वत्र माग भएको थियो।
तर, यसअघिको केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थिएन। कुलमानको कार्यकाल सकिएपछि सो सरकारले हितेन्द्रदेव शाक्यलाई सो जिम्मा दिएको थियो।