बलात्कार आरोपमा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी एवं एमाले नेता हिरा भनिने शिवशंकर साह धरौटीमा छुटेका छन् ।
धनुषा जिल्ला अदालतको आदेशबाट नेता शिवशंकर साह हिरा, संजय महासेठ र व्यवसयी अमित ठाकुरसंग जनही २/२ लाख रुपैयाँ तथा होटेल मैनेजर रामबाबु झासंग ५० हजार रुपैयाँ धरौटीमा छुटेका धनुषा जिल्ला अदालतले जनाएको छ ।
केही महिना अघि नै एक १४ वर्षीया बालिकालाई आफ्नै होटेलमा जबर्जस्ती करणी गरेको आरोपमा मनोजकुमार साहलगायत चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो । घटना ढाकछोप गर्न आर्थिक लेनदेनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका पीडित बालिकाका मामा संजय महासेठलाई पनि शुक्रबार नै धरौटीमा छुटेका छन् ।
हिरा गत स्थानीय निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयरमा उम्मेदवार रहेका थिए । उनी जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष र मधेश प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् ।
महासेठले बलात्कारलाई कानुनी दायरामा नलगी अलग्गैबाट मिलाउने प्रयास गरेको आरोप लागेको थियो । गत कार्तिक २२ गते जानकी चोकस्थित एक होटेलमा दुई राति बन्धक बनाएर बलात्कार गरेको थियो । प्रहरीले बलात्कार गरेको अभियोगमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का मनोज कुमार साहलाई प्रहरीले यस अघि नै पक्राउ गरेको थियो । उनलाई पुर्पक्षका लागि जेलमा पठाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १३ का नाबालिगलाई होटेलमा दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको थाहा पाएपछि पीडित हजुरबुवा र आमाले कार्तिक २३ गते बिहान ५ बजे उद्धार गरी घर लगेका थिए । पीडितलाई करिब ३० लाख रुपैयाँसम्म दिने सहमति समेत गरिसकेपछि घटना २२ दिनसम्म भित्रभित्रै भुसको आगो जस्तो सल्किएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका भरी बलात्कार गरी घटनालाई गुपचुप मिलाएको खबर भित्र भित्रै फैलिए पनि प्रहरीमा उजुरी परेको थिएन ।




