जनकपुरधाम । होटल तथा रेस्टुरेन्टमा अस्वच्छ र गुणस्तरहीन खाद्य सामग्री बिक्री भइरहेको गुनासो बढेपछि धनुषाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रअन्तर्गत लालगढ र ढल्केबरका होटल तथा किराना पसलमा संयुक्त अनुगमन गरिएको छ।
मधेश प्रदेश सरकारको गृह, कानुन तथा सञ्चार मन्त्रालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर तथा जिल्ला प्रशासन कार्यालय धनुषाको संयुक्त टोलीले बुधबार अनुगमन गरेको हो।



अनुगमनका क्रममा अधिकांश होटलमा खाद्य स्वच्छतासम्बन्धी मापदण्डको पूर्ण पालना नभएको, म्याद गुज्रिएका खाद्य सामग्री भण्डारण गरिएको तथा अखाद्य सामग्री प्रयोग गरिएको भेटिएको टोलीले जनाएको छ।
लालगढस्थित बौवा होटलमा मापदण्डविपरीत प्रयोग गरिएको तेलमा पकाइएको करिब १५ किलो माछा तथा मासु नष्ट गरिएको छ। साथै, खाद्य ऐन उल्लङ्घन गरेको भन्दै उक्त होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ।
यसैगरी लालगढ र ढल्केबर क्षेत्रमा सञ्चालित गौतम, पुकार, थापा, कोमललगायत नौ वटा होटल तथा केही किराना पसलमा पनि अनुगमन गरिएको थियो। अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका खाद्य सामग्री तत्काल नष्ट गरिएको छ।
संयुक्त अनुगमन टोलीले होटल तथा व्यवसायीलाई स्वच्छ, सफा र ताजा खाद्य सामग्री मात्र बिक्री गर्न, मूल्यसूचीअनुसार सेवा उपलब्ध गराउन, उपभोक्तासँग बढी मूल्य नलिन तथा प्रचलित खाद्य मापदण्डको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।
उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता बजार अनुगमन आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने सम्बन्धित निकायले जनाएको छ।




