
काठमाण्डौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा बिहान ११ बजे बस्ने भएको हो। निर्धारित समय (भदौ १६–१९) मा पार्टीको १४औं महाधिवेशन सम्भव नदेखिएपछि हिजोदेखि कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा छलफल भइरहेको हो।
हिजोको बैठकमा बोलेका केन्द्रीय सदस्यहरूले तोकिएको समयमा महाधिवेशन नगरे पार्टीको वैधता सकिने भएकाले तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्। सार्नै परे पनि असोजभित्र चाहिँ महाधिवेशन सक्नैपर्ने सुझाव कपितय नेताले दिएका छन्।
आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका विभिन्न प्रस्तावमा बोल्न बाँकी सदस्यले धारणा राख्ने छन्।