
जनकपुरधाम- जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भदौं २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।
आज जनकपुरधाम आएका जसपा अध्यक्ष यादवले विमानस्थलमा पत्रकारहरु संग संक्षिप्त कुराकानी गर्दै कठिन परिस्थिती र कठिन अवस्थामा यस सरकारको गठन भएकोले २२ गते सरकारले पूणर्ता पाउने बताए । उनले भने, ‘अहिले गठबन्धन दलबीच भएको सहमति अनुसार नै सरकार सञ्चालन भएको छ । गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद छैन । छिट्टै सरकारले पूणर्ता पाउने र सहज किसिमले अगाडी बढ्ने छ।’
जसपा अध्यक्ष यादवले प्रदेश २ मा भएको २ जना मन्त्रीको जिम्मेवारी हेरफेरको सम्बन्धमा पत्रकारहरुले गरेको प्रश्नमा मन्त्रीको जिम्मेवारी फेरबदल मुख्यमन्त्रीले आवश्यकता अनुसारले गर्न सक्ने भएको परिवर्तन गरिएको बताए । उनले यसमा कुनै पनि विवाद र समस्या नरहेको प्रस्ट पारे।
अध्यक्ष यादवले महन्थ ठाकुर जी अरुबाट प्रयोग भएको आरोप लगाउदै उनले भने, ‘कस-कसले महन्थजीलाई प्रयोग गर्ने हो खै ? जो आफै आफना खुट्टामा उभिन सक्दैन । त्यस्तासँग जसपाको कुनै प्रतिस्पर्धा हुन सक्दैन ।’
एक दिन अघि जनकपुरधाम आएका महन्थ ठाकुर, राजेन्द्र महतो र शरदसिंह भण्डारीलाई लक्षित गर्दै अध्यक्ष यादवले जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने दाबी गरे ।
जसपा निकटका प्रदेश २ सांसदहरु महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)मा सनाखत गर्ने कुरा बाहिर आएपछि सांसदहरुलाई रोक्न यादव जनकपुर आएका हुन् । यद्यपी जसपा निकट एक जना सांसद प्रह्लाद गिरीले लोसपा तर्फ आज सनाखत गरिसकेका छन् ।