
धनुषा- जनता समाजवादी पार्टी नेपालका थप एकजना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्। यस संगै अहिलेसम्म लोसपाको पक्षमा सनाखत गर्ने प्रदेश सभा सदस्यहरुको संख्या १२ पुगेको छ।
पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालीन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य प्रह्लाद गिरीले लोसपातर्फ सनाखत गर्नुभएको छ।
उपेन्द्र यादवले मधेशको मुद्दा विसर्जन गरेकाले आफूले लोसपा रोजेको नेता गिरीले बताउनुभयो। जसपाका अझै केहि सांसद लोसपामा सनाखत गर्ने उहाँले दाबी गर्नुभयो ।
बुधबार १० जना प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरिसकेका छन्।
प्रदेश २ मा जसपामा पूर्व-फोरमका ३० र राजपाका २५ गरी जम्मा ५५ जना प्रदेशसभा सदस्यहरु छन्। लोसपा रोज्ने समय अवधि भदौ २२ पछि प्रदेशको अंक गणित फेरबदल हुनेछ।