जनकपुरधाम- गृहमन्त्री वाकृष्ण खाँणले धनुषाको कमला नदीको बाढीले गरेको क्षतिको अवलोकन तथा निरीक्षण गरेका छन् ।
धनुषा, उदयपुर, सुनसरी तथा सिन्धुपालचौक जिल्लामा विभिन्न नदीहरुले गरेको क्षति र त्यसबाट पारेको प्रभावको विषयमा उच्च स्तरीय समिति सहित स्थलगत रुपमा निरीक्षण गरेका हुन् ।
हेलिकप्टरबाट धनुषा आई पुगेको गृहमन्त्री खाँण सहितको टोलिले धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदी कटान क्षेत्रको निरीक्षणका क्रममा स्थानीय वासीबाट भएको तटबन्धका कार्यक्रम व्यवस्थित रुपमा अघि बढाएकोमा सराहना गर्दै मन्त्री खाँणले कमला तटबन्ध परियोजनालाई व्यवस्थित ढंगबाट अघि बढाइने बताए।
उनले कमला नदिमा हालै आएको बाढीले तटबन्ध कटान गरेपछि कमला नदि नियन्त्रण आयोजना, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय जनताको प्रयासवाट अस्थायी संरचनाको निर्माण गरेर नदिको नियन्त्रण गरेर ठूलो धानजनको क्षति हुनवाट जोगाएकोमा सवैलाई धन्यवाद दिए ।
गृहमन्त्री खाँणले कमला नदि नियन्त्रणमा विदेशी दातृ राष्ट्रको ठूलो लगानी रहेको बताउदै पुनः विदेशी दातृ निकायलाई अनुरोध गर्नुका साथै स्वदेशको पूँजी परिचालन गरेर स्थायी समाधानको उपाय खोजिने बताए ।
उनले यसपटक सुरुमै बाढी आएर निक्कै क्षति गरेको बताउँदै यसको समाधान गर्नका लागि कस्तो योजना बनाउन सकिन्छ भन्ने उद्देश्यले नै उच्च स्तरीय स्थलगत अनुगमन समितिले निरीक्षण गर्न आएको बताए ।
उनले निरीक्षणको क्रममा वास्तविक अवस्था तथा जनताको राय सहित सुझाव संकलन गरेको जानकारी दिए।
कमला नदीमा हालै आएको बाढीले तटबन्ध कटान गरेपछि सो क्षेत्रमा जोखिम बढेको छ । गृहमन्त्री खाँणले कमला नदीको संवेदनशीलतालाई दृष्टिगत गरेर नै सरकारको कमला नदी नियन्त्रण आयोजनाको कार्यालय खडा गरेको बताए ।
धनुषा तथा सिरहा जिल्लालाई जोगाउन आयोजनालाई थप सबल बनाएर कमला नदीको दीर्घकालीन एवं प्रभावकारी नियन्त्रण हुने उनको भनाइ छ ।
कमकला नदिले गरेको कटानका विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोला, कमला नदि नियन्त्रण आयोजनाका प्रमुख डिभिजन ईन्जिनियर एकराज भट्टराईले मन्त्रीलाई जानकारी दिएका थिए ।
उच्च स्तरीय अनुगमन समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, पूर्व मन्त्री मोहन बहादुर वस्नेत, गृहमन्त्रालयका सचिव टेक नारायण पाण्डे, राष्ट्रिय विपत व्यवस्थापन प्राधिकरणका सिओ अनिल पोखरेल सहितका विभिन्न निकायका अधिकारीहरु सहभागिता रहेको थियो ।