
बर्दिबास- यातायात व्यवस्था कार्यालय बर्दिबासले अब ट्रायल पास गरेकै दिन सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सुरु गरको छ ।
एकवर्ष परीक्षण काल हुने छुट्टै लाइसेन्स वितरण सुरु गरेको हो । ट्रायल पास गरेकै दिन एकवर्षे परीक्षण काल भएको लाइसेन्स कार्यालयले उपलब्ध गराउन सुरु गरेको यातयात प्रमुख पोषण थापाले जानकारी दिए ।

लिखित र ट्रायल पास गरेको वर्षदिनमा समेत स्मार्ट लाइसेन्स नपाउँदा धेरै सर्वसाधारणले सास्ती भोग्नु परेको छ । पछिल्लो समय स्मार्ट काड छपाई सादा कार्ड नभएर बन्द भएको हो । छापिए पनि ढिला गरी सर्वसाधारणलाई उपलब्ध गराउने गरिएको छ ।
एकवर्षे परीक्षणकालिन लाइसेन्स वितरणले सर्वसाधारणले राहत पाउने प्रमुख थापाको विश्वास छ । थापाले भने 'चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै स्मार्ट कार्ड जस्तै परिक्षणकालीन कार्ड वितरण सुरु गरेको हो ।'
नयाँ सवारी चालक अनुमतिपत्र वाहकलाई परिक्षणकालीन कार्ड वितरण कार्यक्रम आयोजना गरेर एक वर्षका लागि क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स वितरणको सुरुवात गरेकोे यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका प्रमुख थापाले बताए ।

उनले भने, ‘अब ट्रायल पास भएको एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स दिन्छौं ।, त्यसको चार वर्षपछि चालकले फेरि लाइसेन्स नवीकरण गराउनुपर्छ ।’ क्यूआर कोडबाट ट्राफिक प्रहरीले सडकमा लाइसेन्स सक्कली हो वा नक्कली हो भनेर पुष्टि गर्नसक्ने थापाले बताए ।
लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छ। क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स जारी हुदा लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने थापाको भनाई छ ।