जनकपुरधाम - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलवार विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरिएको छ ।
प्रदेश २ कै विभिन्न मन्त्रालयका ५ जना सचिवको सरुवा भएको हो । साथै ३ जना सचिव प्रदेश २ आएका छन् । प्रदेशका केहि मन्त्रालय सचिव विहीन बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवलाई सचिवमा पदोन्नती गरेर प्रदेश २ पठाउने गरेकोछ ।
उद्योग, पर्यटन तथा वन मन्त्रालय प्रदेश २ का सचिव डा. रामचन्द्र कँडेलको सरुवा वन तथा वातावरण मन्त्रालयमा भएको छ । उद्योग, पर्यटन तथा वन मन्त्रालय प्रदेश २ मा भने सचिव पठाइएको छैन ।
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय, प्रदेश २ की प्रदेश सचिव सम्झना कुमारी काफ्लेको सरुवा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गरिएको छ । उनको ठाउँमा कृषि तथा पशुपंक्षी मन्त्रालयबाट सहसचिव नम्रता सिंहलाई पठाइएको छ ।
खानेपानी तथा उर्जा मन्त्रालय प्रदेश २ का प्रदेश सचिव रामआधार साहलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । साहको ठाउँमा प्रदेश २ मा सचिव प्रेम कुमार सिंह आएका छन् । उनी यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थिए ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालको सरुवा गृह मन्त्रालयमा भएको छ । दाहालको ठाउँमा सचिव गजेन्द्र कुमार ठाकुरलाई पठाइएको छ । ठाकुर यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।
यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय प्रदेश २ का प्रदेश सचिव विरेन्द्र कुमार यादवको सरुवा गृह मन्त्रालयमा भएको छ ।