
जनकपुरधाम : धनुषामा कोरोनाविरुद्धको खोप निजी मेडिकललाई बिक्री गरेको पाइएको छ।
शहीदनगरस्थित एक स्वास्थ्य केन्द्रका कर्मचारीले बिहीबार नगरपालिकाको अनुगमनका क्रममा शहीदनगर–३ मा रहेको यदुकोहाका प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीले नजिकैको मेडिकलमा कोरोनाविरुद्धको खोप बेचेको पाइएको हो।
अनुगमनका क्रममा श्रीराम हेल्थ केयरमा कोरोनाविरुद्धको ६ भाइल भ्याक्सिन फेला परेको थियो। जसमा भेरोसेल चार भाइल, जोन्सन एन्ड जोन्सन एक भाइल र एस्ट्राजेनेका एक भाइल रहेको छ।
श्रीराम हेल्थ केयरका संचालक २१ वर्षीय कमलेश मण्डलले प्राथमिक केन्द्र यदुकोहामा कार्यरत अहेव देवसरन यादवले उक्त खोप दिएको भनी स्वीकारसमेत गरेका छन्।
दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। श्रीराम हेल्थ केयर सिल गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले उक्त खोप दुई हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म लिएर वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई बेच्दै आएको पाइएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।