
ब्याटिङ-बलिङ दुवै पक्षमा बलियो प्रदर्शन गरेको नेपालले विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आइतबार ओमानलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको ओमानलाई करण केसी र सन्दीप लामिछानेको ४/४ विकेट मद्दतमा नेपालले ३७.१ ओभरमा १ सय २१ मा अल आउट गरेको थियो ।
दोस्रो इनिङमा १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित अर्धशतक जोडे ।
वान् डाउनमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका कप्तान ज्ञानेन्द्रले आशिफ शेखसँग ९५ रनको साझेदारी गर्दै नेपालका लागि ४७ बलमा गरेका ज्ञानेन्द्रले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।
नेपालका ओपनर कुशल भुर्तेल ६ रनमा पेभेलियन फर्किँदा आशिफले ४४ बलमा ७ चौकासहित ४० रन जोडे । त्यस्तै, रोहित पौडेल ६ रन बनाएर आउट हुँदा शरद भेसावकर १ रनमा अविजित रहे ।
ओमानका लागि नेस्तोर धाम्बाले २ तथा कलिमुल्लाहले १ विकेट लिए । सशक्त बलिङ गरेको नेपालसामु घुँडा टेकेको ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि सन्दीप र करणले ४/४ तथा शरदले २ विकेट लिएका थिए ।
शृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले त्यसपछि लगातार दुई खेलमा पराजय बेहोरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेट र दोस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित नेपालको यो शृंखलामा यो अन्तिम खेल हो । नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षको पदबाट राजीनामा दिइसकेका डेभ वाटमोरको नेतृत्वमा नेपालले खेलेको यो अन्तिम खेल हो । गत चैतमा नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका वाटमोरले पारिवारिका कारण देखाउँदै नेपाल बसाई लम्ब्याउन नसक्ने बताएका छन् ।
नेपालले ओमानलाई १२१ रनमा समेट्यो, सन्दिप र करणको घातक बलिङ
ओमानले विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामु १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । करण केसी र सन्दीप लामिछानेले घातक बलिङ गर्दै चार/चार विकेट लिएपछि अल अमेरत क्रिकेट मैदानमा ओमान १२१ रनमा अलआउट भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको ओमानविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि करण केसीले ओमानी दुवै ओपनरलाई चाँडै पेभेलियन फर्काए । वान् डाउनमा क्रिजमा उत्रिएका आयान खानलाई पनि उनले दोहोरो अंकमा रन बनाउन दिएनन् ।

करणले ओमानका लागि १३ बलमा १३ रन बनाएका ओपनर जतिन्दर सिंहलाई आशिफ शेखको हातबाट क्याच आउट गराएका थिए । यस्तै १६ बलमा ४ रान जोडेका अर्का ओपनर सुफियान मेहमुदलाई सुशन भारीको हातबाट क्याच आउट गराए ।
१८ बलको सामना गरेर तेस्रो विकेटको रूपमा पेभेलियन फर्केका आयान करणकै बलमा बोल्ड भएका थिए । स्टार स्पिनर सन्दीपले ११औं ओभरमा आफ्नो पहिलो ओभरमै मोहम्मद नदिमलाई आउट गरे । उनले नदिमलाई एलबीडब्लूको शिकार बनाएका थिए । त्यसपछि १३औं ओभरमा लगातार दुई विकेट लिएका सन्दीपले ओमानका सुरज कुमार र नेस्टोर धाम्बाललाई शुन्यमा पेभेलियन फर्काएका थिए । सुरज बोल्ड आउट भएका थिए भने धाम्बा एलबीडब्लूमै परेका थिए ।
नेपालका लागि सातौं विकेट शृंखलामा पहिलो खेल खेलिरहेका शरद भेसावकरले दिलाएका थिए । शरदले २७ बल खेलेर ८ रन जोडेका ओमानका सन्दीप गौदलाई सुशन भारीको हातबाट क्याच आउट गराएका थिए । आठौं विकेटको रूपमा पुनः भेसावकरले नशिम कुशीलार्य कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । कुशीले ओमानका लागि २७ बलमा १२ रन जोडेका थिए ।
शृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले त्यसपछि लगातार दुई खेलमा पराजय बेहोरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेट र दोस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित नेपालको यो शृंखलामा यो अन्तिम खेल हो ।
नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षको पदबाट राजीनामा दिइसकेका डेभ वाटमोरको नेतृत्वमा नेपालले खेलेको यो अन्तिम खेल हो । गत चैतमा नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका वाटमोरले पारिवारिका कारण देखाउँदै नेपाल बसाई लम्ब्याउन नसक्ने बताएका छन् ।