
जनकपुरधाम - सिरहामा पतिको ह'त्या आरोपमा पत्नीलाई गिरफ्तार गरिएको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको ह'त्यामा उनकै पत्नीको संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई गिरफ्तार गरेको हो । प्रहरीले पतिको ह'त्या गराउनको लागि सुपारी दिएको जनाएको छ ।
महरा गत भदौ १८ गते भारत विहारको जयनगर स्थित बरही गाउँमा मृ'त फेला परेका थिए । सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले दुखहरणकी पत्नी ३८ बर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको ह'त्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि पती-पत्नी भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए । साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि आएका थिए ।
चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएको प्रहरीले बताएको छ । मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी ह'त्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
दुखहरणको ह'त्या गराउन मुकेशले ६० हजार रुपैयाँ लिएको पाइएको डीएसपी बुढाथोकीले जानकारी दिए । उक्त रकम हरिहरदेवीले गाउँकै एक लघुवित्तबाट ऋण लिएको पनि प्रहरीले जनाएको छ ।
दुखहरण र हरिहरदेवीका ४ छोराछोरी छन् । दुखहरण कतारबाट फर्केर गाउँमै फर्निचर तथा किराना पसल व्यवसाय गरिरहेका थिए । विदेशमा कमाएको रकम वचत नभएको भन्दै पती-पत्नी बीच बराबर झगडा हुने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पतिको ह'त्यामा संलग्नको आरोपमा हरिहरदेवीलाई गिरफ्तार गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।
भारतीय नागरिक मुकेशलाई भारतीय प्रहरीले गिरफ्तार गरी जयनगर थानामा राखेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।