
काठमाण्डौं- नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच चोरी गर्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
पश्चिम रुकुम मसिकोट–११ का खिमबहादुर घर्तीलाई सुरक्षामा खटिएका नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।
शुक्रबार बिहान अवलोकन गर्ने पुगेका घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउने प्रयास गर्दा उनको हात समेत काटेको छ । उनलाई अहिले सेनाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि श्रीपेच कडा सुरक्षा घेराभित्र राखिएको थियो । श्रीपेचलाई राजसंस्थाको सबैभन्दा ठूलो प्रतिकका रुपमा लिने गरिन्छ । नारायणहिटी दरबार संग्रहालयमा उक्त श्रीपेच र राजदण्ड एकैस्थानमा प्रदर्शनीमा राखिएको छ।
तत्कालीन राजाहरुले पहिरिने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रन छन् । श्रीपेच बहुमूल्य रत्न र धातुबाट बनाइएको छ । श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज (हुमायो) नामक चराको पुच्छर हो ।
यो श्रीपेच त्रिभुवनको पालामा निर्माण भएको अनुमान छ । तर, त्यसपछि प्रत्येक नयाँ राजाले आफू राजा बनेपछि यसमा बहुमूल्य धातु थप्दै आकार आफू अनुकूल बनाउँदै गएका थिए । अहिलेको श्रीपेच तत्कालिन श्री ५ वीरेन्द्रले तीन पटकसम्म बनाउन लगाएका थिए ।