जनकपुरधाम- नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनकपुर-जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन् ।
उपसभापति निधिले प्रधानमन्त्री देउवालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रेल्वे उद्घाटन र सञ्चालनका लागि ध्यानाकर्षण गराएका हुन् ।



प्रधानमन्त्री देउवासँग उनले नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा रेल्वे उद्घानको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन अनुरोध गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री देउवाले तत्काल रेल्वे सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताए ।
संचालन नहुँदै सक्यो रेलको वारेन्टी अवधि
जनकपुर-जयनगर संचालनको लागि भारतसंग एकवर्ष अघि खरिद गरेर ल्याएको दुईसेट रेलको वारेन्टी अवधि सञ्चालन नहुँदै सकिएको छ ।
भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एकवर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।

भारतीय रेल निर्माण कम्पनी कोंकण रेलवे कर्पोरसनले २०७७ असोज २ गते नेपालले खरिद गरेको दुईसेट रेल जनकपुर ल्याएर नेपाल रेलवे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो दुईसेट रेल कानुन तथा जनशक्तिको अभावमा सोहि दिन पूर्वी धनुषाको इनर्वा रेल्वे स्टेशनमा त्रिपालले छोपेर थन्काएको थियो । रेल छापेको त्रिपाल समेत च्यातिएर धुजा धुजा भइसकेको छ।
दुइसेट रेलवको इन्जिन र बोगीको एकवर्षे वारेन्टी असोज ३ गते सकिएको महाप्रवन्धक झाले बताए । वारेन्टी अवधिमा इन्जन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आए निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ ।
परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नु पर्ने , मोबिल फेर्नु पर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनु पर्छ । तर, दुबै रेल थन्काएर राखिएको दिनदेखि जस्ताको त्यस्तै छ । छोपेर राखिएको दुबै रेल त्रिपाल च्यातेर उघ्रिएर पार्टपुर्जामा खिया लाग्न थालेको स्थानीयहरु बताउँछन् ।
कानुन अभावमा रेल संचालन गर्न नसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । प्रधानमन्त्री केपी ओलीको बेला रेल संचालन सम्बन्धी ल्याएको अध्यादेश निष्कृय भइसकेको छ ।
अब सोहि विधेयकलाई संसदबाट अनुमोदन बनाइ ऐन बनाउनु पर्ने हुन्छ वा अध्यादेशको रुपमा सक्रिय गरे मात्र रेल संचालन सम्बन्धी कार्य अघि बढ्ने कम्पनीले जनाएको छ । त्यसकारण रेल कहिलेदेखि संचालन हुने भन्ने टुंगो अझै छैन ।




