एजेन्सी - इक्वेडरको एक जेलमा दुई आपराधिक समूहबीच झडप हुँदा कम्तीमा ११६ जनाको मृत्यु भएको छ ।
इक्वेडरको गुआयाकिल सहरमा रहेको जेलमा भएको यो झडप इक्वेडरको इतिहासकै सबैभन्दा ठूलो हिंसात्मक घटना हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार भएको यो हिंसात्मक घटनामा पाँच कैदीको घाँटी रेटी हत्या गरिएको छ भने अन्य कैदीको मृत्यु गोली प्रहारबाट भएको हो ।
प्रहरी कमाण्डर फाउस्टो बुएनानोका अनुसार कैदीहरुले अर्को समूहमाथि बम पनि प्रहार गरेका थिए ।प्रहरीका अनुसार अहिले जेलको अवस्था सामान्य बनाइएको छ । यो जेलमा शक्तिशाली मेक्सिकन लागूऔषध तस्करी गर्ने समूह रहँदै आएका छन् ।
प्रहरीले जेललाई नियन्त्रणमा लिएको भनेपछि पनि गोलीको अवाज सुनिएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।यसअघि गत फेब्रुअरीमा पनि इक्वेडरको जेलमा दुई समूहबीच भएको झडपमा ७९ कैदीको मृत्यु भएको थियो । मंगलबारको घटनामा थप ८० कैदी घाइते भएका छन् ।
इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले मुलुकको जेल प्रणालीमा आपतकाल घोषणा गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा