अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापेमारी गरेको विरोधमा जनता समाजवादी पार्टी आन्दोलन घोषणा गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समितीले विरोध आज प्रेश विज्ञप्ती जारी गरि दुई दिने प्रदर्शन गर्ने घोषणा गरेको हो ।
अख्तियारले जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छपामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामा नै अघात पु¥याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशापुर्ण रहेको भन्दै उसले विरोधको कार्यक्रम घोषणा गरेको हो ।
असोज १६ गते प्रदेशका आठवटै जिल्लाका सदरमुकामहरुमा मशाल जुलुस र १७ गते जिल्ला सदरमुकामहरुमा वृहत विरोध प्रदर्शन गर्ने जसपा मधेस प्रदेश समितीले प्रेश विज्ञप्ती जारी गरी जनाएको छ ।
‘अमार्यदित र विद्धेषपुर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पुर्वाग्राही भावनाले गरिएको उक्त कार्य गलत हो । यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारमा नैराश्यता र हिनताबोध हुने, राष्ट्र निर्माणकालागि गरिने लोककल्याणकारी कार्यहरुमा प्रतिकुल असर पर्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैली प्रति जनता समाजवादी पार्टी, नेपाल प्रदेश समिती घोर विरोध, भत्र्सना, र आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।
बुधवार अख्तियारको टोलीले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा व्यापक अनियमितता भएको भनी उजुरीपछि मुख्यमनत्री कार्यालयमा छापा मार्दै कागजात नियन्त्रणमा लिएको थियो ।