काठमाडौं- कार्यतालिकाअनुसार हुने हो भने नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला तहका अधिवेशनहरू गएको शनिबारै सकिनुपर्ने हो। तर काठमाडौंसहित कैयौं जिल्लामा आइतबार अधिवेशन तोकिएको छ।
प्रदेश २ का जिल्लाहरूमा त क्षेत्रीय अधिवेशन नै आइतबार तोकिएको छ। महाधिवेशन गर्न नसकेर चार पटक कार्यतालिका हेरफेर गरेको कांग्रेसले पाँचौं कार्यतालिका पनि ल्याइसकेको छ।
जसअनुसार आउँदो १६ र १७ गते प्रदेश अधिवेशन हुनुपर्छ र केन्द्रीय महाधिवेशन आउँदो मंसीर २४,२५ र २६ गते। तर कांग्रेसले अहिले ५० ओटा जिल्लाको पनि अधिवेशन सम्पन्न गर्न सकेको छैन।
प्रदेश २ का आठसहित अन्य केही जिल्लामा त क्षेत्रीय अधिवेशनमा पनि भएको छैन।
कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनअघि सबै जिल्ला र बाँकी क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसक्ने दाबी गरेको छ। निर्वाचन समितिका सदस्य तेज रावल भन्छन्, “अधिवेशनको प्रक्रिया सबै जिल्लामा शुरु भइृसकेको छ, लगातार सबै ठाउँमा काम चलिरहेको छ।” उनका अनुसार वडा तहकै पनि अधिवेशन शुरु हुन नसकेको सर्लाहीमा पनि आइतबारदेखि अधिवेशन शुरु हुन लागेको छ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले बिहीबार कांग्रेसलाई अब महाधिवेशनको कार्यतालिका पर धकल्ने छुट नरहेको बताएका थिए। आफ्नो सभापतिको उमेदवारीको घोषणा पत्र सार्वजनिक गर्दै निधिले २९ मंसीरभित्र कांग्रेसले जसरी पनि महाधिवेशन गरिसक्नुपर्ने र त्यसको लिखित जानकारी ३ पुसभित्र निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका थिए।
कांग्रेसको निर्वाचन समितिले अहिलेसम्म कति ओटा जिल्लामा अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन भइसकेको भनेर औपचारिक विवरण पनि सार्वजनिक गरेको छैन।
समितिका सदस्यहरूले १६५ ओटै संघीय निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनको काम भइरहेको र ६५ जिल्लामा अधिवेशन पनि बढेको दाबी गरेको छ। यद्यपि अहिलेसम्म ४० ओटा जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको बताइएको छ। सम्पन्न भएको ४० जिल्लामध्ये पनि ३२ ओटा एकल संघीय निर्वाचन क्षेत्र भएका जिल्ला छन्।
काठमाडौं जिल्लामा आफ्नो पक्षको सभापति उम्मेदवारी घोषणा गर्दै शनिबार नेता गगन थापाले कांग्रेसको महाधिवेशनमा सबै नेता कार्यकर्ताले स्वतन्त्र रूपमा आफ्नो विवेक प्रयोग गरिरहकाले बाहिर विवाद र समस्याहरू भने देखिएको दाबी गरे। थापाले भने, “यो राम्रो हो, प्रजातान्त्रिक पार्टीको महाधिवेशनमा तलबाटै नेता कार्यकर्ताहरूले प्रजातान्त्रिक अभ्यास पूर्ण रूपमा गरिरहेका छन्।”
यसले महाधिवेशनको कार्यतालिका समयमा केही तलमाथि देखिए पनि त्यसबाट चिन्तित नहुनु पर्ने उल्लेख गरे।
तर यसअघि पटक पटक सर्दै आएको कांग्रेस महाधिवेशन पुनः कार्यतालिकाअनुसार नभइँरहँदा कतै घोषित मितिमा प्रदेश र केन्द्रीय महाधिवेशन प्रभावित त हुने होइन भन्ने आशंका छ। तर कांग्रेस नेताहरू भने अब महाधिवेशन कार्यतालिका हेरफेर नगर्ने ठोकुवा पनि गरिरहेका छन्।


