कैलाली। धनगढी उपमहानगरपालिका २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापा मगरलाई मारेको आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको छ ।
भारतको हरियाणाबाट पक्राउ परेकी रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निशान मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए । सौतेनी आमा रोकाया सोही दिनदेखि फरार थिइन् ।
भारतीय प्रहरीको सहयोगमा रोकायालाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ । जिल्ला अदालतबाट म्याद थप गरी रोकायामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले जानकारी दिए ।