चलुसखी देव चुमाओन हे जनक जीके अङ्ना । दुल्हा बनल है श्रीराम (सखीसंगीहरू जनकको आङन जाउँ, जहाँ रामलाई चुमाउने छु किनकी श्री राम दुल्हा बनेका छन्)
यस्तै सुमधुर लोक गीत संगीत बीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको रौनक यति खेर जनकपुरमा देखिएको छ ।
प्राचित मिथिला र अहिले प्रदेश २ को राजधानी जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । सो महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु यहाँ आएका छन् । सो क्रममा श्रद्धालुले जानकी मन्दिर लगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् ।
सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन् ।
मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ । त्यस्तै सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।
राजर्षि जनक,जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ ।
सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूणर्िमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ ।
उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ ।
राम र जानकीको स्वयंवर भएको जनविश्वास रही-आएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधाम स्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा सहित लावा-लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।
हजारौं वर्ष पूर्व त्रेता युगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा मुलुक लगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन्।
हुन त जनकपुरधाममा हरेक महिनाको पूणर्ीमाका दिन पनि मासिक रूपमा मेला लाग्छ । त्यस्तै चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा एवं त्यसको एक महिनापछि बैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ, त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूणर्िमासम्म झूला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा(जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूणर्िमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ, तर ती सबै उत्सव, चाडपर्व र समारोहहरूमध्ये हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ।
यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा(बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्ती समूह(बाराती समूह)लाई यस अघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ ।
यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव(कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परा-अनुसार कन्यापक्षका तर्फबाट गरिने ’मटकोर’कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल(घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा-अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।
विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकहरूका कारण जनकपुरका होटल, लोज र धर्मशालाहरू भरिभराउ छन्। साथै भक्तजनको सुविधाका लागि स्थानीय संघ संस्थाहरूले ठाँउ-ठाँउमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन्।
सुरक्षाको लागि पाँच हजार सुरक्षाकर्मी
विवाह पञ्चमीको गतिविधि सिसिटिभीबाट गरिने व्यवस्था मिलाइएको छ। जनकपुरभरिमा एक सय बढी सिसिटिभी क्यामेरा राखिने जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतले जनाए।
सुरक्षा निगरानीका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त प्रहरी युनिट जानकी मन्दिरमा राखिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षा निगरानीको लागि सिसिटिभी उपलब्ध गराइएको छ।
विवाह पञ्चमीको अवसरमा आज प्रदेश २ सरकारले प्रदेशभरि सार्वजनिक विदा समेत दिएको छ।




