महोत्तरी- सामाजिक रुपान्तरण, विकास, परिवर्तन र सामुहिक नेतृत्वका लागि यूवाहरुको भूमिका अपरिहार्य रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिनुभएको छ ।
सामाजिक अभियन्ता श्रवणकुमार महतोको अध्यक्षतामा महोत्तरीको बर्दिवासमा आयोजित “समाज निमार्णको लागि युवाहरुको भुमिका” विषयक दुई दिवसीय गोष्ठिमा कविर बाल आश्रमका संचालक प्रोफेसर सन्त आलोकले सामाजमा रहेको विकृत्ति र विसंगतिलाई चिर्दै समाज निमार्ण र परिवर्तनका संवाहक बनेर युवाहरु अगाडी बढनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा जसपाका नेता राजकिशोर महतोले युवाको सहभागिता विनाको कुनै पनि काम सम्भव नभएकाले आजको आवश्यकता दक्ष र नेतृत्व क्षमतावान युवाको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले आजको युवा शिक्षित हुनुको साथै समाज निमार्णका लागि दिर्घकालिन सोचमा परिवर्तन ल्याउन जरुरी रहेकोमा जोड दिनुभयो ।
सन साइन इग्लिस बोर्डिङ्ग स्कुल बटेश्वर –२ कार्तिककुमरका प्रिन्सिपल श्रवण कुमार महतोले रहेका क्षेत्रमा दक्ष र क्षमतावान युवाहरुको आवश्यकता रहेकाले युवाहरुलाई आ आफनो क्षमता र नेतृत्व विकास गराउनु आजको प्रमुख आवश्यकता रहेकोमा जोड दिनुभयो । सामाजिक परिवर्तनको विकास, नकारात्मक धारणा र सोचको त्याग गर्दै चेतनशिल विचारले युग परिवर्तन गर्न समय नलाग्ने उहाँले बताउनुभयो ।
सचेत युवा समाज बटेश्वर, परिवर्तनका लागि अभियान नेपाल र टिम रुपान्तरण नेपालको संयुक्त आयोजना र सामाजिक अभियन्ता रहनुभएको सन साइन इग्लिस बोर्डिङ्ग स्कुल बटेश्वर –२ कार्तिककुमरका प्रिन्सिपल श्रवण कुमार महतोको एकल आर्थिक सहयोगमा आयोजित कार्यक्रम धनुषा, महोत्तरी, सिरहा र सिन्धुलीका ७६ जना युवायुवतीहरुको सहभागिता रहेको थियो।
दुई दिवसीय आवासीय कार्यक्रममा धनुषाको बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, महोत्तरीको बर्दिवास नगरपालिका, गौशला नगरपालिका, सिरहा र सिन्धुलीका युवाहरुको सहभागिता रहेको थियो । सहभागिहरुले सामाजिक रुपान्तरण र समाजका नकारात्मक सोच, परम्परा, हानिकारण पदार्थलगायतका क्षेत्रलाई त्याग गर्दै सामाजिक सोच, सामुहिक नेतृत्व, सकारात्मक सोच र भावनाका साथ अगाडी बढ्नेमा आफुलाई प्रेरणा जागेको कार्यक्रममा सहभागि युवा दिवेश कुमार महतो बताउनुभयो । यस प्रकारको युवा नेतृत्व विकासको गोष्ठिले युवाहरुको सकारात्मक सोच र धारणा विकास गरेको गोष्ठिमा सहभागि आदर्श सिंहले बताउनुभयो ।
दुई दिवसीय गोष्ठिमा प्रशिक्षकहरु केशव दाहाल, कमल कडेल, मिना शर्मा, शरद गिरि, नविन पोखरेल र टिम रुपान्तरण नेपालका अध्यक्ष रविन्द्र महतो रहनुभएको आयोजक सचेत युवा समाज बटेश्वरका अध्यक्ष रहनुभएका सामाजिक अभियन्ता श्रवणकुमार महतोले बताउनुभयो ।