महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका बासिन्दालाई जानकी मेडिकल अस्पतालमा उपचार गर्दा २५ प्रतिशत छुट हुने भएको छ।क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको विशेष पहल र श्री राम जानकी हेल्थ फाउन्डेशन प्रा.लि.(जानकी मेडिकल कलेज रमदैया भवाडी)को सहकार्यमा क्षीरेश्वरनाथ नगरपालिका बासिन्दालाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने समझौता भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा मंगलवार दुई पक्षिय सम्झौता भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख यादव र दोस्रो पक्षवाट श्री राम जानकी हेल्थ फाउन्डेशन प्रा.लि.(जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैया भवाडी)का अध्यक्ष ओम प्रकाश पाण्डे विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार क्षीरेश्वरनाथ नगरपालिकाको वडा कार्यालय १ देखि १० सम्मका जुन सुकै नागरिकहरुले स्वास्थ्य उपचारको लागि उक्त स्वास्थ्य संस्थामा जुन सुकै रोगको उपचार गराएमा (साधारण तथा जटिल प्रकृतिको रोग सवै तथा उपचार गराउँदा हुने टेष्ट (ब्लड टेष्ट, एक्सरे, इसिजि, अल्ट्रासाउण्ड, आदि जुन सुकै टेष्ट) गराएमा उपचार खर्च तथा टेष्ट गराउँदा लाग्ने खर्चमा २५ प्रतिशत छुट, औषधी खरिदमा १० प्रतिशत छुट दिने लगायतको सम्झौता भएको छ ।



जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैया भवाडीको तर्फबाट साक्षी ईमर्जेन्सी विभागका प्रध्यापक धर्मदत्त सुवेदी र क्षिरेश्वरनाथ नगरपालिकाको तर्फबाट साक्षी स्वास्थ्य संयोजक राम वहादुर यादव लगायतको साक्षी राखी भएको सम्झौताको अवधि २०८० फाल्गुन १ गते देखि २०८२ अषाढ सम्म रहने उल्लेख गरिएको छ ।

जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैया भवाडी विरामीलाई सहज गर्दै तरापटी, सिरसिया, धनुषाधाम, पर्वता, नौसय लगायतको क्षेत्रमा निःशुल्क यातायातको सुविधा गरेको छ भने साप्ताहिक रुपमा मधेश प्रदेशको विभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर र निःशुल्क औषधी वितरणको कार्यक्रम गर्दै आएको जानकी मेडिकलले जनकारी दिएका छन ।




