धनुषा- धनुषामा सौर्य विद्युत आयोजनाको एक मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
मिथिला नगरपालिका १ स्थित ढल्केबर अपि पावर कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजनाको एक मेगावाट आइतबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।



आयोजनाको विद्युत ११ केभी प्रसारण लाइन मार्फत दुई किलोमिटरको दुरीमा रहेको ढल्केबर सबस्टेसनमा जोडिएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।
कम्पनीले साढे चार बिघा क्षेत्रफलमा चार सय वाटका दुई हजार ६८८ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको छ ।
व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले निजी लगानीमा सञ्चालनमा आएको सौर्य विद्युत आयोजना हो ।

नौ करोडभन्दा बढी रुपियाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाडौंको एकल लगानी रहेकोे छ ।
सौर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जोडिएपछि धनुषाको विद्युत वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा दिगो र गुणस्तरीय विद्युत प्रवाह हुने अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले दाबी गर्नुभयो । उहाँले आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम नेपालको कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको बताउनुभयो ।

विद्युत उत्पादनको क्षेत्रमा काम गर्दै आएका अपि पावर कम्पनीले यसअघि ८.१० मेगावाटको बुटबलको तिलोतमा, आठ मेगावाटको परवानीपुर, पाँच मेगावाटको रौतहटको चन्द्रनिगाहपुर र बाराको सिमरामा एक मेगावाट सौर्य विद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
अपि पावरले यसअघि दार्चुलामा निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दार्चुला मै ४० मेगावाटको माथिल्लो निर्माणाधीन चमेलिया जलविद्युत आयोजना २०८० साल पुस-माघ महिनामा सञ्चालन गरिसक्ने कम्पनीको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

अध्यक्ष न्यौपानेले ढल्केवरमा यो आयोजनासँगै यहाँका समुदायसँग मिलेर कृषि विकासको क्षेत्रमा काम गर्ने जानकारी दिनुभयो।उहाँले यो आयोजना भित्र बसेर यहाँको समुदायसँग मिलेर कृषि विकासका अन्य कामहरु पनि गर्ने आफ्नो योजना रहेको बताउनुभयो । उहाँले सबै नगरपालिकाहरुमा यस्तै खालका सोलारका आयोजनाहरु निर्माण गर्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो । ‘यस्तै खालका सोलारका आयोजनाहरु निर्माण गरेर त्यहाँको विजुलीको माग पुर्ती गर्न सक्नुपर्छ,’ अध्यक्ष न्यौपानेले भन्नुभयो ,‘यो विजुलीबाट अन्य उद्योगहरु स्थापना गर्नका लागि कच्चा पदार्थ प्राप्त हुन्छ । यो उद्योग आफैमा एउटा कच्चा पदार्थ हो ।’




