जनकपुरधाम- जन्ती बोकेको गाडी रौतहटमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मंगलबार चन्द्रपुर–गौर सडक खण्ड अन्तर्गत जन्ती बोकेको सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गौर नगरपालिकाबाट गरुडा जाँदै गरेको डि आर ०५ पि ए ६९५३ नम्बरको स्कारपियो गरुडा नगरपालिका–१ स्थित जयनगर सडक खण्डमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लका अनुसार आज साँझ भएको दुर्घटनामा दुर्घटनामा गम्भीर घाइते ९ जनामध्ये पाँच जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चार जनाको उपचार भइरहेको छ ।
मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रौतहटको गढिमाइ नगरपालिका–३ का १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षका मोसाफिर अन्सारी र २५ वर्षका शेख छोटु रहेको छ ।दुर्घटनाग्रस्त जिप अनियन्त्रित भई सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ।




