जनकपुरधाम- प्रदेश २ को जारी अधिवेशनबाट नाम र राजधानी टुंग्याउने सहमती भएको छ। यद्यपी प्रदेशको नाम बारे सहमती जुट्न भने सकेको छैन ।
सहमती जुट्न नसकेपछि नाम र राजधानीको प्रस्तावमा पुनः एक पटक मतदान हुने भएको छ ।
प्रदेश सभामुख सरोजकुमार यादवले आइतबार बोलाएको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।
प्रदेशसभा संसद् सचिवालयका सचिव रञ्जित यादवको अनुसार आइतबार अबेर राति बसेको संसदीय दलका नेताहरूको बैठकले माघ पहिलो साता मै मतदानबाट नै प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति गरेको छ । सचिव यादवले भने, ‘संसदीय दलका नेताहरूले माघ पहिलो सातामा प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउने सहमती गरेका छन् । अरु खासै नयाँ कुरा आएको छैन ।’
मतदानबाट टुंगो लगाउने भएपछि कुनै पनि प्रस्तावमा दुई तिहाई बहुमत नहुँदा फेरि पनि नाम र राजधानीको प्रस्ताव अस्वीकृत हुने अवस्था देखिएको छ।
मधेस प्रदेश को प्रस्ताव दर्ता गराएका सत्ता पक्ष जसपा र माओवादी केन्द्र तथा विपक्षी दल लोसपा सहमत भएपनि तीनै दलको सांसदको संख्या ६३ रहेको छ । यो प्रदेश प्रस्ताव पारित गराउन अझै ७ जना सांसद कतैबाट तान्नु पर्ने आवश्यक हुन्छ ।
त्यसैगरि नेकपा एमाले र नेकपा समाजवादी जानकी प्रदेशमा सहमत भएकोमा सांसद संख्या २१ मात्र छ । यता मिथिला भोजपुरा प्रदेश प्रस्ताव गरेका काँग्रेसको १९ सांसद रहेको छ भने कांग्रेस कै सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा छन्।
यसरी हेर्दा यस पटक राजधानी जनकपुरधाम पारित भएपनि प्रदेशको नाम फेरि पनि पारित हुने अवस्था देखिदैन ।
प्रदेश सभामा दर्ता भएका प्रदेशको नाम र राजधानीको प्रस्ताव बारे छलफल र सहमती जुटाउनको लागि प्रदेशसभाका सभामुख यादवको अध्यक्षतामा गठन गरिएको समितिले दर्ता भएका प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्जमाथि सांसदहरू संग छलफल र सहमती जुटाउने प्रयास पछि संसदीय दलका नेताहरूसँग समेत छलफल गरेको थियो । तर दर्ता भएका कुनै पनि एक प्रस्तावमा सहमति जुट्न नसकेपछि मतदान प्रकृयामा जाने भएको हो।
बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले बैठकमा दलका नेताहरू जे जस्तो परिस्थिति देखिएपनि जारी अधिवेशनबाट नै नाम र राजधानी टुंग्याउने मनसाय रहेको बताए । उनले भने, ‘पहिलो पटक सबै दलका नेताहरु एकै ठाउँ बसेर बे्रक थ्रु अवस्था सृजना भएको छ। चालु प्रदेशसभाको अधिवेशनमा नाम र राजधानीबारे टुंगो लाग्छ।’
नेता सोनलले बैठकमा लोसपाको प्रस्ताव मधेस प्रदेश र जनकपुरधाम राजधानीमा अन्य दलका नेताहरूलाई सहयोग गर्न आग्रह गरेको बताए ।
बैठकमा जनता समाजपादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता एवम् मुख्यमन्त्री लालबाबु राउत, कांग्रेस संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, एकीकृत समाजवादी संसदीय दलका नेता एवम् उद्योय पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह प्रमुख प्रतिपक्ष लोसपाका नेता जितेन्द्र सोनल, एमाले संसदीय दलका नेता सत्यनारायण मण्डल र एक सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्रीदेवी साह सहभागी रहेका थिए ।




